निजीक्षेत्रको मनोबल माथि उठाउँदै विश्वस्त पार्नु आजको आवश्यकता : महासंघ अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजीक्षेत्रको मनोबल माथि उठाउँदै विश्वास पुनः स्थापना गर्नु नै आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।
नवलपुर उद्योग वाणिज्य संघको ११औँ वार्षिक साधारणसभाको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष ढकालले राजनीतिक अस्थिरता, असुरक्षा र अन्योलका कारण आर्थिक गतिविधि चलायमान हुन नसकेको र निजीक्षेत्रको मनोबल माथि नउठेसम्म आर्थिक गतिविधि चलायमान हुन कठिन हुने धारणा राखे ।
हरेक आन्दोलनका क्रममा निजीक्षेत्रका उद्योग, व्यवसायमा प्रहार हुने गरेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले यस्तो अवस्थाले लगानी वातावरण अझ कमजोर हुने बताए । नेपालमा व्यवसायीले गरेको योगदानको चर्चाभन्दा नकारात्मक प्रचार बढी हुने गरेको उल्लेख गर्दै यस्ता नकारात्मक धारणा परिवर्तन हुनुपर्ने उनले बताए । “देशमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने निजीक्षेत्र, राजस्वमा योगदान गर्ने निजीक्षेत्र तर हरेक आन्दोलनमा निजीक्षेत्र तारो बन्ने गरेको छ । अब जुनसुकै प्रदर्शन या आन्दोलनमा निजीक्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने सन्देश आमरुपमा प्रवाह गर्नु पर्दछ‚” उनले भने ।
गएको भदौ २३ र २४ को गतेको प्रदर्शनका क्रममा भएको गलत घुसपैठबाट उद्योग व्यवसायदेखि उद्यमी व्यवसायीका शयनकक्षसम्म आगो लागेको, लुटपाट भएको र अर्बौंको क्षति भएको अवस्थामा दण्डहीनताले प्रश्रय पाउन नहुनेमा अध्यक्ष ढकालको जोड थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको पहलमा धेरै नीतिगत सुधार भएको उल्लेख गर्दै उनले नेपालमा अथाह सम्भावना भएको र ती सम्भावनाहरूबाट नेपालमै अवसर सिर्जना गर्नुपर्ने बताए ।
उनले देशमा ठूला पूर्वाधार परियोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्र मुख ताकेर नहुने भन्दै देशमै छरिएर रहेको पूँजी एकत्रित गरी पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताए । अध्यक्षका ढकालले त्यसैको लागि महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी काम शुरु गरिएको जानकारी दिँदै यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पूँजीको अभाव नहुने बताए । उनले नवलपरासीको धौबादी फलाम खानी सञ्चालनका लागि पनि सहकार्य गर्न सकिने धारणा राखे ।
महासंघको आग्रहमा सरकारले जिल्ला सुरक्षा समितिमा महासंघको प्रतिनिधि पनि सहभागी गराएको बताउँदै यसमा प्रभावकारी सहभागिताका लागि जिल्ला नेतृत्वलाई आग्रह गरे । नवलपुर जिल्लामा कृषि, पर्यटन, ऊर्जा र साना तथा मझौला उद्योगमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय बढाएर ती सम्भावनाहरूलाई व्यवहारमा उतार्नुपर्नेमा समेत जोड दिए ।

