तेस्रोलिंगी नेतृत्वको दल ‘श्रीवत्स’ लिएर चुनावी दौडमा
काठमाडौँ – तेस्रोलिंगीको नेतृत्वमा पहिलो पटक दर्ता भएको समावेशी समाजवादी पार्टीले फागुन २१ गतेको निर्वाचनमार्फत संसद्को ढोका ढकढक्याउँदैछ। निर्वाचन आयोगबाट ‘श्रीवत्स’ चुनाव चिन्ह पाएको पार्टीले सङ्घर्ष, सहअस्तित्व र समावेशितालाई राजनीतिको केन्द्रमा ल्याउने उद्घोष गरेको छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा नेपालको निर्वाचन इतिहासमै पहिलो पटक दल दर्ता भई फागुन २१ गते हुने निर्वाचनमै सहभागी हुन लागेको समावेशी समाजवादी पार्टीले ‘श्रीवत्स’ चुनाव चिन्ह पाएको हो।
समावेशी समाजवादी पार्टी तेस्रोलिंगीको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भई औपचारिक रूपमा चुनावी प्रक्रियामा सहभागी हुने नेपालको पहिलो राजनीतिक दल हो। यही ऐतिहासिक पृष्ठभूमिसहित पार्टीले फागुन २१ कै निर्वाचनमा प्रत्यक्ष सहभागिता जनाउन लागेको हो।
श्रीवत्स एक प्राचीन तान्त्रिक प्रतीक हो, जसले समृद्धि, दया, सौभाग्य र निरन्तरताको अर्थ बोकेको छ। हिन्दू, बौद्ध तथा जैन परम्परामा यो अत्यन्त शुभ चिन्हका रूपमा मानिन्छ। “श्री” शब्दले लक्ष्मी वा समृद्धिको शक्ति जनाउँछ भने “वत्स” ले हृदय–गाँठो, सम्बन्ध तथा जीवन–ऊर्जाको प्रवाहलाई सङ्केत गर्छ।
बौद्ध परम्परामा श्रीवत्सलाई ‘अनन्त गाँठो’ पनि भनिन्छ। यसले आपसी निर्भरता, करुणा, ज्ञान र सन्तुलित जीवनचक्रको अवधारणालाई प्रतिनिधित्व गर्छ। श्रीवत्सको गाँठो सार्वभौमिक मानिन्छ-मानव मात्र होइन, प्रकृति, वातावरण र सम्पूर्ण जीव–जगत् एकअर्कासँग कसरी गहिरो रूपमा गाँसिएका छन् भन्ने आध्यात्मिक सत्यलाई यो प्रतीकले उजागर गर्छ। त्यसैले श्रीवत्स भनेको ‘अनन्तता, सह–अस्तित्व, समृद्धि र शुभ ऊर्जाको गाँठो’ हो।
समावेशी समाजवादी पार्टीको मूल दर्शन नै विविध पहिचानहरू, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका नागरिक, महिलाहरू, आदिवासी जनजाति, मधेसी, दलित, मनोरञ्जन क्षेत्रलगायत सबै समुदायबीचको सहअस्तित्व र समान अवसरमा आधारित छ। श्रीवत्सको अनन्त गाँठोले यिनै मूल्यहरूलाई प्रतीकात्मक रूपमा प्रतिनिधित्व गर्छ।
यो चिन्हले परस्पर निर्भरता, एकता, समृद्धि, सहानुभूति र विवेकपूर्ण सामाजिक रूपान्तरणको सन्देश दिन्छ, जुन पार्टीको “समावेशिता, समानता र सामाजिक न्यायमा आधारित समाजवाद” को मार्गसँग पूर्ण रूपमा मेल खान्छ।
श्रीवत्सको गाँठो जस्तै, समाज पनि विभिन्न धागाहरू वर्ग, जात, भाषा, लैङ्गिकता र पहिचानले बनेको एउटा जटिल तर सुन्दर संरचना हो। समावेशी समाजवादी पार्टीले यी सबै धागाहरूलाई चुँडाउने होइन, जोडेर अझ मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।
त्यसैले श्रीवत्स पार्टीको चुनाव चिन्ह मात्र नभई, यसको राजनीतिक दर्शन, प्रकृतिप्रति सम्मान र मानवीय मूल्यहरूको जीवित प्रतीक भएको बताउँछन् समावेशी समाजवादी पार्टीका संरक्षक एवं सल्लाहकार समेत रहेका एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिल बाबु पन्त।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा तेस्रोलिंगी मानवअधिकारकर्मी नुमा लिम्बु चञ्चला समावेशी समाजवादी पार्टीकी अध्यक्ष हुन्। उनका अनुसार, राजनीतिक यात्रा कुनै आकस्मिक चाहना वा व्यक्तिगत महत्त्वाकाङ्क्षाको उपज होइन; यो दुई दशकभन्दा लामो पीडा, निरन्तर सङ्घर्ष र साना–साना सफलताबाट परिपक्व हुँदै आएको चेतनाको स्वाभाविक नतिजा हो।
अधिकारकर्मको सीमित घेराभित्र थुनिएको आवाजलाई राज्यको मूल नीति–निर्माण तहसम्म पुर्याउने दृढ सङ्कल्पसहित नुमा राजनीतिक पहिचानसहित सार्वजनिक जीवनमा अगाडि बढेकी छन्।
चञ्चलाको जीवनयात्रा सामाजिक बहिष्कार, पहिचानको अस्वीकार र संस्थागत उपेक्षासँग गाँसिएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक हुनु आफैँमा चुनौतीपूर्ण नेपाली समाजमा तेस्रोलिंगी पहिचानलाई स्वीकार गराउन उनले थुप्रै अपमान, अवसरको अभाव र असुरक्षाका अनुभव भोग्नुपर्यो।
परिवार, विद्यालय, कार्यस्थल र सार्वजनिक स्थान सबैतिर बराबरीभन्दा बढी प्रश्न र शङ्काको सामना गर्दै उनले आफ्नो अस्तित्व जोगाइन्। यही पीडाले उनलाई मौन होइन, सङ्गठित आवाज र निरन्तर सङ्घर्षतर्फ डोर्यायो।
करिब दुई दशकदेखि नुमा अधिकारको क्षेत्रमा निरन्तर सक्रिय छिन्। समुदायभित्र उनको काम ऐनाको रूपमा रहेको छ। सार्वजनिक निकायसँग संवाद, नीति–निर्मातासँग भेटघाट र मानवअधिकारका मञ्चहरूमा प्रतिनिधित्वसम्म उनको सङ्घर्ष बहुआयामिक रह्यो। कोशी प्रदेशका मोरङ र झापाबाट सुरु भएको उनको सक्रियता काठमाडौँ हुँदै देशभर फैलिन पुग्यो।
स्थानीय पीडालाई राष्ट्रिय बहसमा रूपान्तरण गर्ने क्रममा उनले कानुनी पहिचान, स्वास्थ्य, शिक्षा, रोजगारी र सुरक्षा जस्ता आधारभूत अधिकारका मुद्दाहरू निरन्तर उठाउँदै आएको बताइन्। आन्दोलनका उतार–चढाव, आन्तरिक मतभेद र सीमित स्रोत–साधनबीच पनि उनले समुदायसँगको भरोसा कहिल्यै टुट्न दिएकी छैनन्।
समयसँगै नुमाले स्पष्ट रूपमा बुझेकी छन्, नीति परिवर्तनका लागि राजनीतिक निर्णय अनिवार्य हुन्छ। अधिकारकर्मले आवाज उठाउँछ, तर त्यो आवाजलाई कानुन र नीतिमा रूपान्तरण गर्ने शक्ति राजनीतिसँग जोडिएको हुन्छ। यही बुझाइले उनलाई देशको मूल नीति राजनीतिमा प्रवेश गर्न प्रेरित गर्यो।
यस यात्रामा, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारप्राप्तिका अभियन्ता तथा एसियाकै पहिलो समलिङ्गी सभासद् पन्तको नेतृत्वदायी भूमिकाको चर्चा र प्रशंसा पनि जोडिएको नुमा बताउँछिन्। पन्तले निर्वाह गरेको नेतृत्वदायी भूमिकासँगै समुदायका मुद्दा समुदायमै सीमित नरहुन् भनेर नै समुदायलाई राजनीतिको केन्द्रीय धारमा उभ्याउँदै यो ऐतिहासिक उपलब्धि हासिल भएको उनको भनाइ छ।

