नेशनल लाईफले गर्यो लुम्बिनी प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको अध्यक्षतामा “सीईओ क्लब सदस्य सम्मान कार्यक्रम” भव्य रूपमा सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१/८२ का लक्ष्यअनुसार बीमाशुल्क संकलन गर्दै योग्य ठहरिएका लुम्बिनी प्रदेशका ३४० जना अभिकर्ता, विभागीय तथा प्रदेश प्रमुख र शाखा प्रमुखहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमको उद्घाटन सीईओ खत्रीले पानसमा दियो प्रज्वलन गरेर गरेका थिए। कार्यक्रममा लुम्बिनी प्रदेशबाट सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई क्लब सदस्यता वितरणसहित सम्मान गरिएको थियो। साथै, आफ्नो कोड र संजालमा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरियो।
यस्तै, नेशनल रत्न तथा नेशनल स्टार उपाधि प्राप्त अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र तथा खादा सहित सम्मान गरिएको कंपनीले जनाएको छ।
सीईओ खत्रीले कम्पनीले राष्ट्रव्यापी रूपमा सीईओ क्लब तथा नेशनल अवार्ड कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कार्यक्रम सम्पन्न भइसकेको तथा बाँकी प्रदेशहरूमा पनि चाँडै आयोजनाको तयारी भइरहेको बताए। उनका अनुसार, यस वर्ष देशभरबाट १,६०० भन्दा बढी अभिकर्ता सीईओ क्लबका लागि छनोट हुनु कार्यक्रमको सफलताको सूचक हो। यस्तो कार्यक्रमले अभिकर्तालाई व्यवसायिक रूपमा सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले आगामी वर्षमा अझ प्रभावकारी योजनाहरू ल्याइने बताए।
कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरका चर्चित प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गरेका थिए। उनले बीमा अभिकर्ता पेशा केवल व्यवसाय नभई सेवा–भावसँग जोडिएको पवित्र पेशा भएको उल्लेख गर्दै, इमान्दारिता र निरन्तरता नै यस पेशामा सफलताको मुख्य आधार रहेको बताए।
सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट उपयोगी तालिम प्राप्त गर्दा पेशाप्रतिको ऊर्जा र प्रेरणा थपिएको बताउँदै, प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्दा गर्व र उत्साह बढेको प्रतिक्रिया दिएका छन्।

