सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर २१ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
सोमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं. १ को स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ४० लाख कित्ता तथा सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाको अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानिय बासिन्दाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता बाँडफाँट गरिनेछ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

