मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन बाल अस्पतालको निरीक्षण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गर्नुभएको छ ।
मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैयाको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पतालको निरीक्षण गर्नुभएको हो ।
मन्त्री घिसिङले सोमबार कियोजबाट झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गर्नुभएको थियो । अस्पतालको मुख्य भवन निर्माण निर्माण अन्तिम चरणमा छ । मन्त्री घिसिङले अस्पतालको निर्माणाधीन भवन तथा विभिन्न संरचना र निर्माण प्रगतिका बारेमा कियोचका अध्यक्ष डा कोइरालासँग छलफल गर्नुकासाथै स्थलगत निरीक्षण गर्नुभएको थियो ।
उक्त अस्पताल निर्माणका लागि सरकारले करिब ४१ रोपनी जग्गा भाडा (लिज)मा उपलब्ध गराएको थियो । संघीय सरकारले भवन बनाउ र उपकरण खरिदका लागि करिब ११ करोड र बागमती प्रदेश सरकारले १ करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय गरेका छन् ।
डा. काइरालाको अगुवाइमा अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको बाल अस्पताल बनाउन लागिएको त्यसको प्रशंसा गर्दै मन्त्री घिसिङले अस्पताल निर्माणलाई सरकारकातर्फबाट आवश्यक सहयोग रहने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘दमकमा सञ्चालित बाल अस्पतालका निरीक्षण गर्यौं, उक्त अस्पतालबाट त्यस क्षेत्रमा ठूलो सेवा पुगेको रहेछ, काम गर्न सक्नेलाई देशको समग्र क्षेत्रको विकासका लागि थप जिम्मेवारी दिएर अगाडि बढाउन जरुरी छ ।’ उहाँले हस्पताल निर्माणमा सहयोग गर्ने सबै दातालाई धन्यवाद दिनुभयो ।
सबै नेपालीको पहुँच हुनसक्ने गरी अत्याधुनिक उपकरणसहितको सुविधा सम्पन्न बाल अस्पतालको निर्माण गरिएको उल्लेख गर्दै डा. कोइरालाले अस्पताल गैरनाफामूलक, समाजसेवामा विशेष केन्द्रित हुने र कमजोर वर्गले पनि गुणस्तरीय उपचार पाउने बताउनुभयो ।
उहाँले बालमृत्युदर उच्च रहेको कर्णाली प्रदेशमा अस्पताल निर्माणका लागि पहल भइरहेको उल्लेख गर्नुभयो । डा. कोइरालाले सात प्रदेशमा बाल अस्पताल निर्माण गर्ने घोषणा गर्नुभएको थियो ।

