निर्वाचन आयोगले स्थापना गर्यो समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय
काडमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
कान्तिपथस्थित आयोगको कार्यालय बहादुर भवनमा स्थापना भएको सो कार्यालयको सोमबार (मंसिर १५) एक समारोहबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गरे । मंसिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव माहादेव पन्थले आजै जिम्मेवारी वहन गरेका छन् ।
उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतको रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराई तोकिएका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । समानुपातिक निर्वाचन व्यवस्थापनको लागि कुल ४१ जना कर्मचारीहरू कार्यरत रहनेछन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक निर्वाचन प्रणालीका सबै कार्यहरू निर्वाचन अधिकृतको कार्यालयबाट हुने हुँदा सबै सरोकारवालालाई सहज हुने विश्वास व्यक्त गरे । सूत्रात्मक पद्दतिबाट राष्ट्रिय तथ्यांक कार्यालयसमेतको सहयोगमा कानुन बमोजिमका जातीय, भौगोलिक, लैङ्गिक लगायतका समूहहरू छुट्याएर प्रतिनिधि चयन गरिने भएकोले सबै पक्षको भरोसा रहने उनको भनाइ छ ।

