लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूूति नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले लामो समयदेखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरुलाई सहजता प्रदान गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष अग्रवालले भने, ‘लगानीमैत्री वातावरण निर्माणका लािग पहिलो आवश्यक्ता सुरक्षाको प्रत्याभूूति नै हो ।’ स्वदेशी लगानीकर्ताको मनोवल उकास्न सरकारले अविलम्व लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति हुने गरी नीतिगत व्यवस्था गर्नुपर्दछ ।
विदेशी लगानीकर्ताहरुको सुुरक्षाको प्रत्याभूूतिका लागि दुईपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षा सम्झौता गरिएजस्तै आन्तरिक लगानी प्रवद्र्धनका लागि पनि ठोस नीतिगत व्यवस्था हुनुपर्ने अध्यक्ष अग्रवालको भनाई छ ।
लगानी वातावरण, रोजगारी श्रृजना, राजश्व संकलन, वित्तीय स्थिरता लगायतका आर्थिक चुुनौतीहरु मुलुकले भोगिरहेको अध्यक्ष अग्रवाले बताए । करिव ६ वर्षदेखि नै कोभिड-१९ को प्रभाव र त्यसपछिको अर्थतन्त्रको कुशल व्यवस्थापन हुन नसक्दा अर्थतन्त्र शिथिलताबाटै गुज्रिरहेको उनको भनाई छ ।
उनले भने,‘ अपार प्राकृतिक श्रोतहरुले भरिपूूर्ण हाम्रो देशमा लगानीमैत्री आर्थिक नीतिहरुको अभावले आर्थिक समृद्धि हासिल गर्नु त परै जावस आफ्नो युवा जनशक्तिका लागि रोजगारी समेत श्रृजना हुुन सकेको छैन ।’
विगतका संकुुचित र अव्यवहारिक मौद्रिक नीतिहरुका कारण पछिल्लो ४ वर्षमा १ लाख ५० हजार भन्दा बढी उद्यमी व्यवसायीहरु कर्जा कालोसूचीमा परेको अध्यक्ष अग्रवालले बताए ।
लामो समय देखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरुलाई लागि सहजता प्रदान गर्न नेपाल राष्ट्र बैंकद्धारा जारी चालुपुँजी कर्जा निर्देशिकालाई खारेज गर्नुपर्ने अध्यक्ष अग्रवाललको भनाई छ ।




