बन्दीपुरका होटलमा पर्यटक भरिभराउ हुँदा व्यवसायी उत्साहित
बन्दीपुर । बन्दीपुरमा ७ महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।
पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिए । उनले भने, ‘यसरी आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्यधिक हुने गरेका छन् । ७ महिनामा ५ हजार ५१ जना चिनियाँ पर्यटकले भ्रमण गरेका छन् । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन् । चिनियाँ पर्यटक बास बस्नेगरी भन्दा घुमफिरका लागि आउने गरेका छन्, बास बस्नका लागि अधिकांश पोखरा र चितवन जाने गर्दछन् ।’
उनका अनुसार वैशाखमा ३ हजार २९७, जेठमा ३ हजार ३४२, असारमा २ हजार ७६६, साउनमा २ हजार ७५, भदौमा १ हजार ८३२, असोजमा ३ हजार ७८६ र कात्तिकमा ४ हजार ६२७ जनाले भ्रमण गरेका छन् ।
त्यसैगरी आन्तरिक पर्यटकतर्फ ३२ हजार ७६० जनाले बन्दीपुर भ्रमण गरेका छन् । वैशाखमा १ हजार ८९८, जेठमा २ हजार १३५, असारमा २ हजार ११५, साउनमा २ हजार ४५१, भदौमा १ हजार ९८२, असोजमा ५ हजार १२१ र कात्तिकमा १७ हजार ५८ जनाले भ्रमण गरेका हुन् । कात्तिक र मंसिरमा भ्रमणका लागि कलेज र विद्यालयबाट विद्यार्थी आउने भएकाले पर्यटकको संख्या ह्वात्तै बढेको देख्न सकिन्छ ।
२०८१ चैतदेखि २०८२ चैतसम्म १२ हजार ९३९ जना विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक छ । बन्दीपुर पर्यटन वर्ष २०२५ मा धेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । ‘यतिबेला बन्दीपुरमा रहेका ४ वटा घरबास र ७० होटल भरिभराउ छन्, पर्यटको आवागमन वृद्धिसँगै यहाँका व्यवसायीहरू उत्साहित भएका छन्’, उनले भने ।

