साउन पछि बैंकमा निक्षेप घटेको घट्यै, राष्ट्र बैंकले डेढ अर्ब पठाउँदै |
काठमाडौं । नयाँ आर्थिक वर्ष शुरु भएपछि वाणिज्य बैंकहरुमा निक्षेप घटेको घट्यै छ । गत असार मसान्तसम्म कुल २८ खर्ब ७८ अर्ब निक्षेप संकलन भएकोमा साउन १० गते २८ खर्ब ६२ अर्बमा झर्यो । साउन २४ गते २८ खर्ब ५८ अर्बमा झरेको निक्षेप भदौ ६ गते २८ खर्ब ५३ अर्बमा झरेको छ ।
गत आर्थिक वर्षको साउन महिनामा पनि निक्षेप १५ अर्बले घटेको थियो । नयाँ आर्थिक वर्षमा साउनमा मात्रै २३ अर्बले निक्षेप घटेको छ । निक्षेप घटबढ भइरहने बताउँदै बैंकर भने यसलाई सामान्य रुपमा लिन्छन् ।
बैंकहरुमा निक्षेपको चरम अभाव भइरहेका बेला राष्ट्र बैंकले डेढ अर्ब बढी रकम पठाउने भएको छ। बैंक, विकास बैंक र फाइनान्समा गरी कुल १ अर्ब ५८ करोड रुपैयाँ राष्ट्र बैंकले मुद्दती निक्षेपका रुपमा जम्मा गर्ने भएको हो ।
३६५ दिने अवधिको मुद्दती निक्षेप बैंकहरुमा असोज १ देखि जम्मा हुनेछ । जसअनुसार वाणिज्य बैंकहरुमा १ अर्ब २६ करोड, विकास बैंकहरुमा २३ करोड र फाइनान्स कम्पनीहरुमा ७ करोड बढी रकम जम्मा हुनेछ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्म भुक्तानी सन्तुलन ६७ अर्ब ४० करोड नोक्सानीमा छ । बैंकहरुमा कर्जाको माग बढिरहँदा निक्षेप घट्दै जानुले लक्षित आर्थिक वृद्धिलाई नै असर पार्न सक्नेछ । असार दोस्रो सातापछि आएको ऋण प्रस्तावलाई धेरै बैंकहरुले ‘क्लोजिङ टाइम’ भन्दै फर्काइदिए ।
नयाँ आर्थिक वर्ष लागेपछि बैंकहरुमा स्रोतको झनै अभाव देखिएकाले अहिले नयाँलाई ऋण दिने अवस्था नै नरहेको एक बैंकरले बताए ।
निक्षेप घटिरहँदा बैंकहरुले सक्दो रुपमा ऋण प्रवाह भने गरिरहेका छन् । पछि निक्षेप थपिने आशाले ‘सीसीडी रेसियो’लाई बैंकहरुले टाइट पारेका छन् ।
बैंकर्स एसोसिएसनका अनुसार नयाँ आर्थिक वर्ष शुरु भएपछि भदौ ६ गतेसम्म कर्जा प्रवाह १८ अर्बले बढेको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुले २४ खर्ब ९८ अर्ब कर्जा प्रवाह भएकोमा भदौ ६ गतेसम्म २५ खर्ब १६ अर्ब पुगेको छ ।



