सवारी दुर्घटनामा परी अमेरिकाको मिजुरीमा तीन नेपालीको मृत्यु |

मंगलबार अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ । स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् ।
घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीय छोरी घाइते भएका छन् । प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ ।
मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटना हुँदा श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, बाँकी ३ जना पछाडिको सिटमा रहेको स्थानिय जोप्लिन प्रहरीले जनाएको छ ।
गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो। ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ ।
घटना त्यहाँको स्थानीय समयअनुसार २ː५५ बजे घटेको हो ।