सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ सम्पन्न, १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी
काठमाडौँ । दुईदिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ इन एशोसिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तोटिकेट्स’ सम्पन्न भएको छ । लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरको संयुक्त आयोजनामा शुक्रवार र शनिवार फेस्ट आयोजना भएको हो ।
फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी रहेका थिए । कार्यक्रममार्फत सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई, रकेट तथा एयरोस्पेसलगायतका उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिएका थिए । जसले आईसीटी उद्योगका प्रतिनिधि र नवीनतम क्षमता भएका नेपाली युवा उद्यमीलाई जोड्ने काम फेस्टले गरेको आयोजकले बताएको छ ।
समापन समारोहका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले युवाहरूको नवीन सोच र आइडियालाई व्यवसायमा रूपान्तरण गर्न मन्त्रालयले स्टार्टअप कर्जा प्रदान गर्ने मात्र नभई उनीहरूलाई इन्क्युबेशन तथा एक्सिलेरेटर कार्यक्रमसँग जोड्ने काम गरिरहेको बताए । ‘अब ट्रेडमार्क तथा आईपी दर्ता प्रक्रियालाई समेत अनलाइन प्रणालीमा रूपान्तरण गर्न लागिएको छ,’ उनले भने ।
फेस्ट अवलोकनका क्रममा उपसभामुख इन्दिरा रानाले कार्यक्रममा सहभागी नवप्रवर्तक युवाहरूका आइडियाले देशमा रहेको ठूलो सम्भावना उजागर गरेको प्रतिक्रिया दिइन् । आईसीटी विज्ञ मनोहर भट्टराईले फेस्ट जस्ता कार्यक्रमहरूले नेपालमा स्टार्टअप इकोसिस्टमलाई गतिशील बनाउने तथा लगानीकर्ता र नवप्रवर्तकबीच सहकार्य विस्तार गर्न उल्लेखनीय भूमिका खेल्ने बताए ।
कार्यक्रमका सह–आयोजक तथा एरोस्पेस र ड्रोन प्रदर्शनी नेतृत्वकर्ता, द स्क्वाड अफ चेन्जमेकरका संस्थापक सुशीलदेव भट्टराईले यस्ता प्रदर्शनीहरूले बालबालिकामा विज्ञान र गणितजस्ता विषयप्रति रुचि बढाउने बताए ।
फेस्टमा सरकारी तथा निजी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, आईसीटी विज्ञ, लगानीकर्ता, कर्पोरेट लिडर, विद्यार्थी, क्यान महासंघ र नास–आईटीका पदाधिकारीलगायत १० हजारभन्दा बढी अवलोकनकर्ता उपस्थित भई फेस्टको प्रत्यक्ष अवलोकन गरेको आयोजकले बताएको छ । दर्शकहरूले युवाहरूका स्टार्टअप, इन्नोभेसन र प्रोटोटाइपहरू हेर्दै देशमा विकास भइरहेको डिजिटल इकोसिस्टमलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए।
फेस्टका संयोजक तथा लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले नेपालमा स्टार्टअप र इन्नोभेसनको इकोसिस्टम विस्तार गर्न पछिल्ला केही वर्षयता स्टार्टअप फेस्ट र आइसिटी अवार्डजस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको जानकारी दिए । ‘स्टार्टअपले ठूलो रोजगारी सिर्जना गर्नुका साथै देशको जीडीपीमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँछ,’ उनले भने, ‘स्टार्टअपका लागि उपलब्ध गराइँदै आएको कर्जा पर्याप्त छैन, यसलाई अनुदानमा रूपान्तरण गर्नुपर्छ ।
फेस्टमा आईसीटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोशल इन्नोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरूसमेत सहभागी भएका थिए । अवलोकनकर्ताहरूले ती उत्पादन र इन्नोभेसन प्रत्यक्ष अवलोकन गरी मनपरेका स्टार्टअप तथा आइडियालाई भोट दिएका थिए । उत्कृष्ट ५ छनोट गर्दा जुरीको मार्किङसँगै भोटिङको पनि प्रभावकारी भूमिका रहने आयोजकले जनाएको छ ।
स्टार्टअप तथा प्रडक्टमा रुचि राख्ने लगानीकर्ताहरूका लागि विशेष प्रडक्ट डेमो र नेटवर्किङ सेसनसमेत राखिएको थियो, जहाँ सातै प्रदेशका स्टार्टअपहरूले आफ्ना आइडिया पिच गरेका थिए । फेस्टमा एआई–केन्द्रित शिक्षा प्रदान गर्ने सनवे कलेज, एआई प्रडक्ट टिङटिङ, सस्तोटिकेट्स, इनड्राइभ, नेपालपे क्युआर, एमआईटी कलेजलगायतका संस्थाहरूले पनि स्टल राखेर आफ्ना सेवा र प्रविधि प्रस्तुत गरेका थिए ।
हाल आइसिटी अवार्ड २०२५ का १५ विधामा छनोट प्रक्रिया जारी रहेको छ, जसका लागि ७ सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएका छन् । अवार्ड विजेता चयनका लागि करीब ६ महिनासम्म चल्ने विस्तृत मूल्यांकन प्रक्रिया हुने गर्दछ । यसका लागि आइसिटी विज्ञहरू सहितको जुरी तथा सल्लाहकार समिति गठन गरिएको आयोजकले जनाएको छ । आइसिटी अवार्ड २०२५ को ग्राण्ड फिनाले आगामी पुसमा हुनेछ ।

