एनआरएन अभियानमा धर्मराजको उचाई बढ्दो, उपाध्यक्षमा उम्मेदवारी दिने |

अस्ट्रेलियाको नेपाली समाजभित्र अलग र फरक पहिचान बनाएका नुवाकोटका धर्मराज अधिकारीका पनि थुप्रै सपना थिए । मुलुकमा राजनीतिक परिवर्तन र जनपक्षीय घटनाक्रममा खुलेरै झन्डा पनि बोके अनि ०४६ सालको आन्दोलनमा गोलीको निशाना छातीमा पनि ठोके । तर राजनीतिक घटनाक्रमले फरक मोड लिँदै गर्दा अधिकारीले भने अस्ट्रेलियाको बाटो रोजे । यतै आए, संघर्ष गरे अनि सपना सजाए र अस्ट्रेलियाको नेपाली समाजमा रमाए ।
पढाइ, लेखाइ अनि सिकाइपछि अधिकारीले ट्याक्सी किनेर विजनेसमा पाइला टेके तर उनको व्यापारलाई अपार बनाउने रहर यतिमा मात्र सीमित थिएन ।
बिस्तारै संसारमै चिनिएका पिज्जाको ब्रान्ड डोमिनोज किनेर यसलाई अगाडि बढाए । उनको रहर र लगावले दिनादिन व्यापार अपार हुँदै गयो ।
यतिखेर १२ वटा डोमिनोजको स्टोर चलाएर नुवाकोट तारुकाका धर्मराजले यसै ब्रान्डलाई शान र मान बनाएका छन् ।
कर्म गरे फल मिल्छ भन्ने उनको आख्यान सिड्नीका धेरै नेपालीले उदारहणका रूपमा लिएका छन् ।
दुई दशकको अस्ट्रेलिया बसाइँले उनलाई नेपाली समाजमा पनि स्थापित गरिसकेको छ । एनआरएनभित्र सामाजिक अभियन्ताका रूपमा उनले लामो समय र स्रोत खर्चिसकेका छन् ।
हाल एनआरएनको ओसेनिया क्षेत्रको संयोजकका रूपमा अधिकारीले पदीय मर्यादालाई स्तरीयताको कसीमा अब्बल दर्जामा उभ्याएका छन् ।
कामका हिसाबले पनि दुई वर्षमा दुइटा अन्तरराष्ट्रिय स्तरको बृहत सम्मेलनको आयोजना र आइसिसीका सबैखाले काम कर्तव्यमा प्रत्यक्ष सहभागिताले उनलाई समाजमा स्थापित गरेको छ ।
प्रवासमा बसेर सामाजिक कार्य आफैंमा सहज विषय होइन । आफ्नो समय खर्चेर अनि गोजीको डलर झिक्नु मात्र होइन, व्यापार र पेशालाई थाती राखेर रात बिरात हिँड्दै गर्दा यसले चुकाउने मूल्य भनेको आत्मसम्मान र सन्तुष्टि मात्रै हो ।
तर धर्मराजले भने पछिल्लो एक दशकदेखि सामाजिक अभियानमा लाग्दै गर्दा आफूलाई रतिभर पनि थाकेको महशुस गरेका छैनन् । शुक्रबार सञ्चारकर्मीसँग भेट गर्दै आगामी दिनमा अझै सबल रूपमा सामाजिक अभियानमा लाग्ने कुरामा आफू कटिबद्ध रहेको बताए ।
एनआरएनको आगामी अक्टोबर महिनाको १३ देखि १६ सम्म आयोजना हुने विश्व सम्मेलनमा केन्द्रीय उपाध्यक्ष पदमा ओसेनियाको तर्फबाट उम्मेदवारी दिने तयारीमा रहेको उनले बताए ।
‘मुलुकसँग जोडिएको महत्वपूर्ण पाटोको रूपमा रहेका एनआरएनका अनेकन अभियानमा सहभागी भएर केही गर्ने रहर जागेको छ र अब ओसेनियाबाट एक खुट्किलो माथि सरेर आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने योजना बनाएको हुँ’, धर्मराजले भने ।
प्रारम्भमा पढाइ, लेखाइ ,बसाइँ अनि संघर्ष र सफलतासम्म आइपुग्दा धर्मराज अधिकारीले धेरैखाले परीक्षामा आफूलाई अब्बल सावित गरिसकेका छन् ।
‘आउँदो अक्टोबरमा पनि संसारभर छरिएर रहेका साथीभाइले माया गरेर यो उपाध्यक्षको परीक्षामा पनि पास गराइदिनुहुनेछ भन्ने विश्वास लिएको छु’, धर्मराजले मन्द मुस्कानका साथ भने ।
उनले दोहोरो नागरिकता, लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, विदेशमा सिकेको सीप र ज्ञानलाई नेपाल पुर्याउने अभियानमा योगदान दिने योजना रहेको सुनाए ।
गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १३ देखि १६ तारिखसम्म काठमाडौंमा अन्तरराष्ट्रिय सम्मेलन हुँदैछ । यो सम्मेलनले ८० देशका करिब पन्ध्र सय प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ ।
यस पटक आईसीसीको अध्यक्षमा भने हालका उपाध्यक्ष जर्मनीका कुमार पन्तको चर्चा चुलिएको छ । उनीसँगै बेलायतका कुल आचार्यको पनि नाम अगाडि आएको छ ।