कुमारी बैंकको खुद नाफा १ अर्ब ५ करोड
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार, बैंकले सो अवधिमा १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ प्रतिशतले घटेको हो ।
गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी भने सुधार भएको छ । असोज मसान्तसम्मको अवधिमा यो आम्दानी ३.७७ प्रतिशतले बढेर २ अर्ब ९१ करोड २० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ८० करोड ६२ लाख रुपैयाँभन्दा बढी हो ।
यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३९.६३ प्रतिशतले बढेर ८४ करोड ९१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशतले बढेर ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । तर, बैंकको सञ्चालन नाफा ८.११ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँमा सीमित भएको विवरणमा उल्लेख छ ।
कुमारी बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ । असोज मसान्तसम्ममा बैंकले ३ खर्ब ६० अर्ब ४० करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.१६ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले २ खर्ब ६९ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन ३.२५ प्रतिशतले वृद्धि भएको हो ।
तर, बैंकको वितरणयोग्य नाफा ऋणात्मक (–३ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ) रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) घटेर १६ रुपैयाँ ११ पैसामा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३ पैसा कम हो । बैंकको प्रतिशेयर नेटवर्थ १४५.२१ रुपैयाँ र मूल्य–आम्दानी अनुपात (P/E ratio) ११.२६ गुणा रहेको छ ।
बैंकको खराब कर्जा (NPL) दरमा भने उल्लेख्य वृद्धि भएको छ । गत वर्षको असोजमा ४.९६ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ६.९८ प्रतिशत पुगेको छ, जसले बैंकको सम्पत्ति गुणस्तरमा दबाब देखाएको छ ।
