दुई कम्पनीको शेयरमूल्य समायोजन
 
                                                                    
                                                                कात्तिक १४ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको मूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले गुराँस लघुवित्तको १४.२५ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात गुराँस लघुवित्तको शेयरमूल्य २ हजार २१ रुपैयाँ ८८ पैसा र मुक्तिनाथको १ हजार ४५८ रुपैयाँ ३३ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। बिहीबार दोस्रो बजारमा गुराँस लघुवित्तको शेयर प्रतिकित्ता २ हजार ३१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने मुक्तिनाथको १ हजार ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
त्यसैगरी, गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोपश्चात कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको मुक्तिनाथ कृषि कम्पनीले सो प्रस्तावहरु पारित गर्न कात्तिक २१ गते शुक्रबार सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा दिउँसो साढे ११ बजे सातौँ वार्षिक साधारण सभा बोलाएको छ।

 
                                                                     
                                                                    