मनाङका दुर्गम स्थानमा ‘फोर जी’ सेवा सुरु

काठमाडौं । मनाङका अत्यन्तै दुर्गम र विकट स्थानहरुमा ‘फोर जी’ सेवा सुरु भएको छ ।
मनाङका दुर्गम र विकट भनेर चिनिने ठाउँ पिसाङ, टंकी मनाङ र खाङसार लगायतका स्थानमा टेलिकमले ‘फोर जी’ सेवा सञ्चालनमा ल्याएको छ ।
आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले भू–धरातलीय तथा भौगोलिक हिसाबले अत्यन्तै दुर्गम र विकट स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन तथा कतिपय स्थानहरुमा गुणस्तर अभिवृद्धिको कार्य सम्पन्न गरेको जनाएको छ ।
पर्यटकका साथै स्थानीय तथा व्यवसायीहरुको चापका कारण भी–एसएटी प्रविधिबाट गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाई महसुस भएपश्चात् ग्राहकहरुको माग अनुसार असोज ४ गतेदेखि कम्पनीले ‘फोर जी’ सेवा सञ्चालन गरेको हो ।
चामे गाउँपालिका–३ स्थित कोटोगाउँमा मोबाइल नेटवर्कको कभरेज रामो नभएको गुनासोलाई सम्बोधन गर्न सेवाको गुणस्तरका सम्बन्धमा स्थानीय वासिन्दा तथा हाइड्रोपावर क्षेत्रमा काम गर्ने सयौं ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बीटीएस स्थापना गरी असोज १ गतेदेखि ‘टु जी र फोर जी’ मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो । यसका साथै तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि निकट भविष्यमा ‘फोर जी’ मोबाइल सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ ।
मनाङ जिल्लाका धेरै स्थानमा सेवाको स्तरोन्नतीका साथै नयाँ सेवा सञ्चालनमा आएसँगै नार्पाभूमी गाउँपालिका बाहेकका अन्य सम्पूर्ण पालिकाहरुमा नेपाल टेलिकमको ‘फोर जी’ मोबाइल सेवा पुगेको छ ।
नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ ।