बिवाइडीले काठमाडौंमा बनायो १२ वटा चार्जिङ स्टेशन |
काठमाडौ । विद्युतीय सवारीसाधन निर्माता कम्पनी बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले १५ वटा चार्जिङ स्टेशन बनाएको छ ।
साइमेक्सले काठमाडौं उपत्यकामा १२ र बाहिर ३ गरी १५ वटा चार्जिङ स्टेशन बनाइसकेको कम्पनीका प्रोजेक्ट तथा मार्केटिङ म्यानेजर समिर श्रेष्ठले जानकारी दिए ।
‘उपत्यकामा पाटन, महाराजगञ्ज, रत्नपार्क, कमलादी नक्साल थापाथली, तीनकुने, सिंहदरबार लगायत ठाउँमा र बाहिर नारायणगढ हेटौंडा र लुम्बिनीमा संचालनमा ल्याइसक्यौं,’ उनले भने ।
कम्पनीले देशैसम्म नेपालभर २५ वडा चार्जिङ स्टेशन बनाइसक्ने र २०१९ भित्र त्यसको संख्या ५० पुर्याउने श्रेष्ठले जानकारी दिए ।
‘बर्दिबास, धुलिखेल, कुरिनटार, पोखरा इटहरी लगायतको ठाउँमा पनि हामीले चार्जिङ स्टेशन पनि अन्तिम चरणमा छ,’ उनले भने । चार्जिङ स्टेशन सञ्चालनमा आए पनि उपभोक्तासँग कुनै शुल्क नलिएको उनले जानकारी दिए ।
‘बिजुली बेच्ने अधिकार हामीसगँ छैन, प्राधिकरणले नीति बनाएपछि मात्र हामीले शुल्क लिन मिल्छ,’ श्रेष्ठले भने । बिवाइडीले राखेको चार्जिङ स्टेशनबाट सबै विद्युतीय सवारी साधन चार्ज गर्न भने मिल्दैन ।
यस चार्जिङ स्टेशनबाट स्ट्याण्डर्ड २ प्रविधिको विद्युतीय सवारीसाधन चार्ज गर्न मिल्ने उनले जानकारी दिए । हाल नेपालभर ४० वटाभन्दा धेरै बिवाइडीका गाडी विक्री भइसकेको साइमेक्सले जनाएको छ । चार्जिङ स्टेशन बनाउन एउटाको ६ देखि ८ लाख खर्च हुने श्रेष्ठले जानकारी दिए ।



