ग्लोकल टीन हिरो नेपाल ११औं संस्करणका शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा

काठमाडौं । ग्लोकल प्रा.लि.ले ११ औं संस्करणको गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को लागि शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा गरेको छ। यस वर्षको प्रतियोगितामा बालबालिकाको अधिकार, नवप्रवर्तन, प्रविधि, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाशीलता, पर्यावरण, एआई विज्ञान/अनुसन्धान र अन्य विभिन्न क्षेत्रमा समाजमा सकारात्मक प्रभाव पारेका ७८४ किशोरकिशोरीहरूबाट आवेदन प्राप्त भएको थियो।
ग्लोकल२० अण्डर २० छनोट गरिएका उत्कृष्ट किशोरकिशोरीहरूको विवरण र दस्तावेजहरूको समीक्षा हाम्रो निर्णायक मण्डलले गरेको थियो। त्यसपछि उनीहरूको कामको सुरुवात, उपलब्धि, निरन्तरता र समाजमा पारेको प्रभावको आधारमा गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि अन्तिम चरणमा शीर्ष छ फाइनलिस्टहरूलाई सर्टलिस्ट गरिएको हो। सम्मानित ६ सदस्यीय निर्णायक मण्डलले यी ६ जना प्रतिभाशाली किशोरकिशोरीहरूलाई उनीहरूको उपलब्धि, पहल र आ-आफ्नो क्षेत्रमा पुर्याएको योगदानका लागि सर्टलिस्ट गरेको छ।
शीर्ष ६ फाइनलिस्टहरू यसप्रकार छन् :
१. कृष्ण यादव, धनुषा- सामग्री निर्माता
२. मानुषी न्यौपाने, स्याङ्जा- यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) अधिवक्ता
३. निश्चल ढुंगाना, कपिलवस्तु जलवायु न्याय अधिवक्ता
४. अक्सफोर्ड आचार्य, जुम्ला- नीति अधिवक्ता
५. रेणुका सिंह, सर्लाहीकी- कृषि उद्यमी
६. सफल पौडेल, रुपन्देही- एआई विकासकर्ता
निर्णायक मण्डलले उनीहरूको योगदान, प्रभाव र कामको निरन्तरताका आधारमा छनोट गरेको हो । अब फाइनलिस्टहरूले वर्कसप, अन्तरक्रिया र अन्तर्वार्तामा भाग लिनेछन् । साथै, अगस्ट २१ देखि ३१ सम्म एसएमएसमार्फत भोटिङ खुला गरिएको छ ।
विजेताको घोषणा भदौ १५ गते (सेप्टेम्बर १, २०२५) ललितपुरको द प्लाजा मा भव्य समारोहका बीच गरिनेछ, जहाँ कूटनीतिज्ञ, उद्यमी, शिक्षाविद् र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ ।