‘नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२५’ आजबाट, ३५ वटा नयाँ ब्रान्ड लन्च हुँदै

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा हुन लागेको पहिलो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२५’ आजबाट सुरु हुने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा ५ दिनसम्म चल्ने यस एक्सपोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुने बताइएको छ । प्रर्दशनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा नयाँ व्यवसायिक गाडीहरु सार्वजनिक हुनेछन् ।
एक्सपोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने छन् भने विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू पनि प्रदर्शनीमा राखिने छ, जहाँ ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन्। अटो शोमा सवारीसाधन बेच्ने कम्पनीका अलावा बैंक तथा वित्तीय संस्था पनि सहभागी हुनेछन्।
प्रदर्शनीको पहिलो दिन अनिल केशरी शाहले दिउँसाे २ बजेदेखि ५ बजेसम्म “मोबिलिटी हिजो, आज, भोलि” विषयमा ज्ञानवर्धक सत्र सञ्चालन गर्ने भएका छन् ।अन्य दिनको सत्रहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका दक्ष तथा विज्ञ व्यक्तित्वहरूको उपस्थिति रहने छ । प्रदर्शनीको पाँचौँ दिन भने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने प्यानल डिस्कसन गरिने आयोजकले जनाएको छ ।
प्रदर्शनीको प्रवेश टिकट खल्ती बाई आइएमई एपमार्फत अग्रिम खरिद गर्न सकिन्छ।
यसका साथै सधैंभरी पार्किङ समस्याले सताउने प्रदर्शनी स्थलमा यस पटक भने पार्किङ व्यवस्थाको लागि नाइमाले पठाओसँगको सहकार्यमा भृकुटीमण्डप गन्तव्य हुने राइडहरूमा ३० प्रतिशतसम्मको छुट व्यवस्था गरेको छ।
नाइमाको आयोजनामा हुन लागेको यो एक्सपो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी हुने अपेक्षा गरिएको छ।