‘केसीसी एक्जिबिट २०२५’ आयाेजना हुँदै

काठमाडाैँ । १५ साउन २०८२ । कान्तिपुर सिटी कलेज (केसीसी) ले प्रत्येक वर्ष आयाेजना गर्दै आएकाे केसीसी एक्जिबिट २०२५ शुक्रबार र शनिबार आयाेजना हुने भएकाे छ । भाेलि साउन १६ र १७ गते कलेज परिसर, पुतलीसडक, काठमाडौंमा याे एक्जिबिसन आयोजना गरिने कलेजले जनाएकाे छ।
कार्यक्रमको उद्घाटन समारोह साउन १६ गते (August 1, 2025) बिहान ९:०० बजे कलेज परिसरमा हुनेछ। कार्यक्रमको अध्यक्षता कान्तिपुर सिटी कलेजका अध्यक्ष सुमन कटवालले गर्ने छन् भने सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का सचिव डा. रवीन्द्र प्रसाद ढकाल विशेष अतिथिका रूपमा सहभागिता जनाउने छन् । अन्य विशिष्ट अतिथिहरूमा सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेल, क्यान महासंघकी अध्यक्ष सुश्री सुनैना पाण्डे, व्यवस्थापन संघ (म्यान) का महासचिव इन्द्र कुमार श्रेष्ठ, कलेजका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की, प्राचार्य राजु कट्टेल, र एक्जिबिसनका संयोजक इ. रवि श्रेष्ठ रहनेछन्।
इनाेभेसन, एक्जिबिट, इन्स्पायर भन्ने मूल नारासहित आयोजना हुने यो दुईदिने प्रदर्शनीले विद्यार्थीहरूका सिर्जनात्मक र व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्नुका साथै शैक्षिक क्षेत्र र उद्योग क्षेत्र बीचको सहकार्यलाई थप सशक्त बनाउने कलेजकाे दाबी छ।
प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी नेतृत्वका परियोजनाहरू प्रदर्शित गरिनेछन् । जसमा कृत्रिम बुद्धिमत्ता (एआइ), इन्टरनेट अफ थिङ्स, सफ्टवेयर एप्लिकेसनहरू, वेब/मोबाइल एप्स, शैक्षिक प्लेटफर्म, सिभिल इञ्जिनियरिङ मोडलहरू, ट्राफिक व्यवस्थापन, भूकम्प प्रतिरोधी संरचनाहरू आदि समावेश हुनेछन् । त्यस्तै, बिबिए विद्यार्थीहरूद्वारा सञ्चालन गरिने ५ भन्दाबढी खाना स्टलहरूमार्फत स्थानीय तथा फ्युजन स्वादका परिकारहरू प्रस्तुत गरिनेछन् । जसले उद्यमशिलतालाई पनि प्रोत्साहन गर्ने कलेजले जनाएकाे छ ।
प्रदर्शनीमा सांस्कृतिक कार्यक्रम र प्रत्यक्ष प्रस्तुतीहरू पनि समावेश गरिएका छन् । कार्यक्रममा चर्चित गायिका एञ्जिला रेग्मीको लाइभ कन्सर्ट, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को प्रस्तुति तथा विद्यार्थीहरूद्वारा प्रस्तुत लाइभ म्युजिक आदि रहेका छन् ।
कार्यक्रममा १० हजार भन्दा बढी अवलोकनकर्ताहरूको सहभागिता अपेक्षित गरिएको छ । विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विशेषज्ञ, सञ्चारकर्मी र सर्वसाधारण सहभागी हुने संयाेजक श्रेष्ठले बताए । यो प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च प्रदान गर्नुका साथै शैक्षिक क्षेत्रमा प्रवर्द्ध र उद्यमशीलताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको कलेजका उपनिर्देशक राजीव तिमल्सिनाले बताए ।
केसीसी पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त नेपालकै अग्रणी आईटी, इञ्जिनियरिङ् तथा व्यवस्थापन कलेज हाे ।