काठमाडौं महानगरको बजेट सीमा २५ अर्ब
काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्षको बजेटका लागि सिलिङ दिएको छ ।
काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक जर्षका लागि करिव २५ अर्ब बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रमुख शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिए। चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।
शुक्रबार बस्ने ४० औं नगर कार्यपालिका बैठकले नगरसभाको मिति तय गरी नगरसभा मार्फत बजेट सार्वजनिक गर्नेछ ।
नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नेछिन्।
आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ।
