वैदेशिक रोजगारी कर्जालाई विपन्न वर्गमा गणना गर्न पाइने
काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवालाई दिइने कर्जालाई विपन्न वर्ग कर्जामा गणना गरिने भएको छ।
राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई धितो लिई वा नलिई प्रवाह गरिने कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्न सकिने व्यवस्था गरेको हो।
मौद्रिक नीतिले लघुवित्तबाट पुरुषलाई दिइने ३ लाखसम्मको कर्जा र महिलालाई दिइने ५ लाख रुपैयाँसम्मको कर्जालाई पनि यो वर्गमा गणना गर्न सकिने व्यवस्था गरेको छ ।
लघुवित्त वित्तीय संस्थाको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गरी कर्जा सदुपयोग अभिवृद्धि गर्न लघुवित्तको लागि लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड र ऋणीको योग्यतासम्बन्धी ब्यवस्थामा पुनरावलोकन हुने भएको छ।
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने विपन्न वर्ग र अन्य निर्देशित कर्जाहरूको सीमा व्यवस्थाको अध्ययन गरी पुनरावलोकन गरिने भएको छ।
