रसुवागढीमा भिषण बाढी पहिरो, नेपाल–चीन मितेरी पुल बगायो, सुक्खा बन्दरगाहका गाडीसमेत बगे

काठमाडौं । आज विहानै आएको भिषण बाढी पहिरोबाट नेपालको चीनसँगको व्यापारिक नाका रसुवागढीमा ठूलो क्षति भएको छ । यद्यपि मानवीय क्षतिको विवरण आइसकेको छैन । मितेर पुल भएको लेन्दे खोलमा भिषण बाढी आएको हो । बाढीबाट रसुवागढी हाईड्रोपावर, नयाँ बन्दै गरेको भन्सार यार्डमा क्षति पुगेको छ ।
आज विहान करिब ३ः१५ बजेतिरको समयमा चीनतर्फबाट बगेर आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल समेत बगाएको छ । चीनतर्फको अध्यागमन कार्यालय अगाडीको पुल विहिन अवस्थामा देखिएको छ ।
‘प्रारम्भिक जानकारी अनुसार बाढीले अन्दाजी ६–७ वटा ईभी गाडीहरु बगाएको भन्ने छ । त्यहाँ केही मानिसहरु पनि फसेको जानकारीमा आएको छ । उद्धार टोली परिचालित भएको छ,’ रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।
बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याममा पनि क्षति पुगेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । खासगरी मैलुङ र बेत्रावती क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको अधिकारीले बताए ।
मैलुङ प्रहरी चौकीका प्रहरीहरु जोखिमका कारण सुरक्षित स्थानमा गएको उनले बताए ।