नेपाल आयल निगमले पोखरामा बनायो ७५ करोडको लागतमा इन्धन डिपो
काठमाडौं । नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन भण्डारण गृह (डिपो) निर्माण गरेको छ ।
निगमका अनुसार, उक्त डिपो भ्याटबाहेक ७५ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।
कुल ३ हजार ६ सय किलोलिटर क्षमताका ३ वटा ट्यांकसहित निगमको डिपोमा ट्याङ्कीको उचाइ १२ मिटर र व्यास १२ मिटर छ। यस अतिरिक्त, हाइड्रान्ट रिफ्युलिङ प्रणालीसहितको १२ इन्च व्यासको पाइपलाइन समेत जडान गरिएको छ।
विद्यमान उडान सुरक्षालाई ध्यानमा राख्दै अत्याधुनिक मापदण्डअनुसारको नियन्त्रण कक्ष, अफिस, फायर फाइटिङ सिस्टम लगायतका पूर्वाधारको निर्माण गरिएको छ।
निगमको इतिहासमा पहिलो पटक स्वदेशी प्रविधि, स्वदेशी डिजाइन र ठेकेदारको सहयोगमा यो हवाई इन्धन डिपो निर्माण गरिएको पोखरा एयरपोर्ट हवाई इन्धन डिपो परियोजना प्रमुख प्रदीप यादवले बताए ।




