धनगढीमाईका हजारौँ नागरिकको खानेपानीको सपना आज साकार भएको छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना आज साकार भएको बताएका छन्।
बिहीबार धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले धनगढीमाईका हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्ति दिलाउनुका साथै उनीहरुको खानेपानीसम्बन्धीको समस्या समाधान भएको बताएका हुन् ।
उनले भने, ‘हामीले आजदेखि धनगढीमाई नगरपालिका वडा नं ११, १२ र १३ का हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्त गराएका छौँ । यो सरकारको नागरिकप्रतिको प्रतिबद्धताको उदाहरण पनि हो ।’
स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पुर्याउने सरकारको प्रतिबद्धता रहेको समेत मन्त्री यादवले स्मरण गराए । ‘धनगढीमाईका बासिन्दाले बिगतदेखि दैनिक रूपमा भोग्दै आएको पिउने पानीको सङ्कट अन्त्य भएको छ ।’ उनले भने, ‘अब नागरिकलाई शुद्ध, सुरक्षित र नियमित पानी आपूर्ति हुने विश्वास दिलाउँछु ।’
यसैगरी मन्त्री यादवले यो आयोजना मार्फत नगरवासीलाई घरदैलोमै स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी पुर्याइ यहाँका स्थानीयवासीको स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् ।
आयोजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न स्थानीय सरकार, प्राविधिक समूह र जनसहभागिताको ठूलो भूमिका रहेको उल्लेख गर्नु हुँदै मन्त्री यादवले प्रशङ्सा समेत गरेका छन् । उनले यस्ता आयोजनाले समावेशी विकासलाई तीव्रता दिने उल्लेख गर्दै अन्य वडाहरूमा पनि क्रमशः यस्ता योजना विस्तार गरिने प्रतिबद्धता जनाए ।