असार १३ गतेदेखि सिटिजन्स सदाबहार योजना निष्काशन गर्दै सिटिजन्स क्यापिटल
काठमाडौं । सिटिजन्स क्यापिटलले असार १३ गतेदेखि सामूहिक लगानी कोष सिटिजन्स सदाबहार योजनाको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५ करोड इकाईमध्ये बीच पूँजी बापत न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेश्नललाई सुरक्षित राखि बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई प्रथम चरणको निष्काशनमा ल्याउन लागेको हो। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना खुलामुखी प्रकृतिको योजना हो। यस योजनाको कुल आकार ५० करोड रुपैयाँ रहेको छ।
योजनाको इकाईमा असार १७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असार २७ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटि ३ रेटिङ्ग प्रदान गरेको छ।




