नसर्ने रोग, लैङ्गिक असमानता र यौन दुर्व्यवहार रोकथामका लागि तिलाठी कोइलाडी गाउँपालिकामा भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको चारदिने शिक्षक प्रशिक्षण सम्पन्न

सप्तरी । नसर्ने रोग, लैङ्गिक असमानता र यौन दुर्व्यवहार रोकथामका लागि तिलाठी कोइलाडी गाउँपालिकामा भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको चार दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भाष्कर-तेजश्री स्मृति प्रतिष्ठान नसर्ने रोग रोकथाम, लैङ्गिक असमानता र यौन दुर्व्यवहार रोकथामका लागि निरन्तर क्रियाशील संस्था हो । विशेष गरी प्रतिष्ठानले स्कुले शिक्षक र विद्यार्थीलाई नसर्ने रोग रोकथाम, लैङ्गिक असमानता र यौन दुर्व्यवहार रोकथामका लागि जागरूक गराउन सके समाजलाई नै जागरूक गराउन सकिन्छ भन्ने उद्देश्यले पालिकासँगको सहकार्यमा स्कुले शिक्षकलाई प्रशिक्षण दिँदै आएको छ र शिक्षकमार्फत् विद्यार्थीलाई जागरूक गराउँदै आएको छ ।
सोही अवसरमा यो पटक सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका सबै सामुदायिक विद्यालयका कक्षा ४-८ मा स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला अध्यापन गर्ने शिक्षक शिक्षिकाहरू र विद्यालय नर्सलाई नसर्ने रोग रोकथाम र सामाजिक अध्ययन र मानव मूल्य शिक्षा विषय अध्यापन गर्ने शिक्षक शिक्षिकाहरूलाई लैङ्गिक असमानता र यौन दुर्व्यवहार रोकथामका लागि प्रशिक्षित गरेको थियो ।
शिक्षक प्रशिक्षण कार्यक्रममा नसर्ने रोग, लैङ्गिक विभेद र यौन दुर्व्यवहारका जोखिमहरूको रोकथाम गर्न अनुसन्धान-प्रमाणित विशेष र टिप्स शैक्षिक पाठयोजना मोड्युलहरू प्रयोग गरी सबै सामुदायिक विद्यालयका शिक्षक-शिक्षिका र विद्यालय नर्सलाई प्रशिक्षण गरिएको थियो ।
शिक्षक प्रशिक्षण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख अरुण कुमार मण्डलले नसर्ने रोगबाट बच्न, लैङ्गिक विभेद एवं यौन दुर्व्यवहारबाट बच्न तालिमले सकारात्मक परिवर्तन ल्याउन विद्यालयहरूको महत्वपूर्ण भूमिका हुने बताए । उनले सहभागीहरूलाई तालिमको क्रममा प्राप्त गरेको सबै ज्ञान र सीप आफ्ना विद्यार्थीहरूलाई हस्तान्तरण गर्न आग्रह गरे ।
शिक्षा शाखा प्रमुख चन्द्रभुषण रायले तिलाठी कोइलाडी गाउँपालिकाको लागि शिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेकोमा भाष्कर तेजश्री स्मृति प्रतिष्ठानलाई धन्यवाद व्यक्त गरे । उनले तालिम अत्यन्त प्रभावकारी र व्यावहारिक सिकाइमा आधारित रहेको उल्लेख गरे । रायले भविष्यका अनुगमन पहलहरूको लागि निरन्तर सहकार्य र समर्थन गर्ने गाउँपालिकाको प्रतिबद्धतालाई पनि पुन: पुष्टि गरे । त्यस्तै सरोज कुमार कर्णले प्रशिक्षित हुने शिक्षकहरुलाई आफूले तालिममा सिकेका कुरा विद्यार्थीहरुलाई नसर्ने रोगहरू र यौन दुर्व्यवहार रोकथामका लागि अझ प्रभावकारी रुपमा सिकाउन सके पक्कै सकारात्मक परिवर्तन ल्याई स्कुलको दिगो बाटोबाट नै निरोगी एवं समतामूलक समाज निर्माण गर्न सकिने बताए ।
यस शिक्षक प्रशिक्षण कार्यक्रमबाट
स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला अध्यापन गर्ने शिक्षक: २९, विद्यालय नर्स: १, सामाजिक अध्ययन र मानव मूल्य शिक्षा विषय अध्यापन गर्ने शिक्षक: २७ जना गरी जम्मा ५७ जनाले शिक्षक प्रशिक्षण तालिम लिएका थिए ।
भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले यसअघि झापा जिल्लाको विर्तामोड नगरपालिकामा ३७ जना र जुम्लाको चन्दननाथ नगरपालिकामा २९ जना शिक्षकहरूलाई यस्तै तालिम प्रदान गरिसकेको जनाएको छ। तालिमहरूले शिक्षकहरूको शिक्षण क्षमता अभिवृद्धि गर्न र विद्यार्थीहरूमा सकारात्मक प्रभाव पार्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । तालिम सातै प्रदेशमा छानोट भएका स्थानीय तहमा सञ्चालन हुने प्रतिष्ठानका अनुसन्धान तथा तालिम अधिकृत सङ्गीता कार्कीले बताइन् ।