आज बजेट सार्वजनिक हुँदै, यस्तो छ कार्यसूची

काठमाडौं । आज बिहीबार जेठ १५ गते सरकारले अगामी वर्षको बजेट सार्वजनिक गर्नेछ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट पेस गर्नेछन् ।
अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्रीले २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ ।
त्यसअघि प्रतिनिधिसभाको अपराह्न १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने कार्यसूची छ । साथै, अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१–०८२ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।
त्यसैगरी राष्ट्रियसभाको अपराह्न १ः४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८१–०८२ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।