परराष्ट्रमन्त्री डा. राणा द्विपक्षीय भेटवार्तामा व्यस्त

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग आज संयुक्त अधिराज्यको संसदीय मामिलासम्बन्धी उपमन्त्री ब्यारोनेस हमेनले शिष्टाचार भेट गरेका छन्।। परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादमा सहभागिताका लागि नेपाल आएकी उपमन्त्री हमेनबीच आज सो साइडलाइन भेटवार्ता भएको हो।
उनीहरूबीच नेपाल र बेलायतबीचको लामो र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धका बारेमा कुराकानी भएको थियो। त्यस क्रममा मन्त्री डा राणाले बेलायतले नेपालको आर्थिक सामाजिक क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेकी थिइन्। सो अवसरमा जलवायु परिवर्तनको असर कम गर्न आगामी दिनमा गर्न सकिने संयुक्त सहकार्यका विषयमा छलफल भएको थियो।
मन्त्री डा राणाले त्यस अवसरमा नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको माग गर्दै आएको स्मरण गराउँदै त्यसमा नेपालले बेलायतको सहयोग र सहकार्यको अपेक्षा गरेको पनि बताइन्।
त्यसैगरी मन्त्री डा राणासँग आजै संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्री अब्दुल्लाह बलालाले शिष्टाचार भेट गरिन्। त्यस अवसरमा उनीहरूबीच नेपाल युएइ सम्बन्ध र आपसी हितका साथै जलवायु परिवर्तनको न्यूनिकरणका क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो।
साथै आजै मन्त्री डा राणासँग अजरबैजानका राष्ट्रपतिका जलवायु सम्बन्धी विशेष प्रतिनिधि एवं कोप २९ का अध्यक्ष मुख्तर बाबायबले पनि शिष्टाचार भेटवार्ता गरेकी छन्।
उनीहरूका बीचमा नेपाल र अजरबैजानको अपसी सम्बन्धका साथै दुई देशले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा विचार विमर्श गरेका थिए।