हिमालयन रि इन्स्योरेन्सको नाफामा सामान्य सुधार

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो मसान्तसम्ममा कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यो अवधिसम्म कम्पनीले ४ अर्ब १८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १९.७६ प्रतिशतले बढी हो । अघिल्लो आवमा ४ अर्ब २७ करोड रहेको कम्पनीको कुल आम्दानी बढेर ५ अर्ब २० करोड पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको खर्च २४.७० प्रतिशतले बढेर ३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले २ अर्ब २८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सेयर प्रिमियम ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ, विशेष जगेडा १ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ती कोषमा १६ करोड ४९ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा १ अर्ब २ करोड ८९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड ५० लाख रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.२४ रुपैयाँ र पीई अनुपात ८०.७३ गुणा कायम भएको छ ।