आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ह्याम्स अस्पतालमा विशेष छुट

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई ह्याम्स अस्पतालमा उपचार सेवामा विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाएको छ । कम्पनी र ह्याम्स अस्पतालबीच भएको सम्झौता अनुसार बीमितहरूलाई अस्पताल सेवामा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको हो ।
कम्पनीले ग्राहक सेवामा थप सहजता र स्वास्थ्य सुरक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले उक्त सहकार्य गरेको जनाएको छ । सम्झौता अनुसार बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाएर छुट सुविधा प्राप्त गर्न सक्नेछन् । यस्तै, अभिकर्ता र कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र देखाएर सुविधा लिन सक्नेछन् ।
कम्पनीका अनुसार यस सहकार्यले बीमित र अभिकर्ताहरूबीच सेवा उपयोगको सहजता बढाउनुका साथै कम्पनीप्रति विश्वास र सन्तुष्टि कायम गर्न मद्दत पुग्नेछ । भविष्यमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले ‘प्रिभिलेज कार्ड’ प्रणाली ल्याउने योजना पनि सार्वजनिक गरेको छ ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो समय डिजिटल सेवा विस्तार, स्वास्थ्य–सुरक्षा पहुँच र व्यावसायिक सञ्जाललाई सुदृढ पार्ने नीति अनुरूप विभिन्न अस्पताल, क्लिनिक तथा सेवाप्रदायक संस्थाहरूसँग सहकार्य गर्दै आएको छ । कम्पनीले आगामी दिनमा बीमितको हितमा यस्ता सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।