मन्त्री यादवको विशेष निर्देशनपछि काठमाडौ उपत्यकाबासीले पाउने भए मेलम्चीको शुद्ध पानी

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । मन्त्री यादवको विशेष निर्देशनपश्चात् खानेपानी अभाव झेलिरहेका काठमाडौं उपत्यकावासी अब शुद्ध र सफा मेलम्चीको पानी पिउन पाउने भएका छन् । सो कार्यका लागि अहिले काठमाडौं उपत्यकाभरिका नागरिकहरूलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका लागि सञ्जाल निर्माणको कार्य फास्ट ट्रयाकअन्तर्गत अगाडि बढेको छ ।
काठमाडौं उपत्यकामा रहेका नागरिकका घरघरमा मेलम्चीको पानी पुर्याउने मन्त्री यादवको उद्देश्य र लक्ष्यअनुसार आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले ‘काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायित्व सेवाका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ ।
काठमाडौं उपत्यकावासीसहित चक्रपथबाहिरका क्षेत्रहरूका नागरिकलाई भरपर्दो र व्यवस्थित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित चक्रपथबाहिरका क्षेत्रहरूमा समेत मेलम्चीको खानेपानी वितरणका लागि सञ्जाल निर्माणको फास्ट ट्रयाकअन्तर्गत प्रक्रिया सुरु भएको मन्त्री यादवले बताए। उनले भने, ‘मेलम्चीको पानी चक्रथपबाहिरका क्षेत्रमा रहेका नागरिकलाई वितरण गर्ने मेरो उद्देश्यअनुसार प्रक्रिया सुरु भएको छ । लामो समयदेखि पानी वितरणका लागि थालेको मेरो प्रयासले बल्ल सार्थकता पाउँदै छ ।’
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)अन्तर्गत नेपाल सरकारको बजेट र एसियाली विकास बैंकको ऋण सहयोगमा सुरु गर्न लागिएको उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं, बुढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर ठिमी नगरपालिकाहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का टीकाबहादुर चौधरीले जानकारी दिए।