नेपालमा परिवर्तन ल्याउने अवसर दाताहरूसँग बाँड्न आतुर छु : श्रीराम रामाकृष्ण
काठमाडौं । सिंगापुरको नेशनल युनिभर्सिटीका पूर्व उपाध्यक्ष प्रा. श्रीराम रामाकृष्णले नेपालमा आधुनिक र नवप्रवर्तनमुखी विश्वविद्यालय स्थापना गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको औँल्याएका छन्।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयुएसटी)ले काठमाडौंमा आयोजना गरेको “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” विषयक एकदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै रामाकृष्णले यस्तो बताएका हुन्।
“म व्यक्तिगत रूपमा उपस्थित भएर तपाईंहरूसँग ‘सबैभन्दा यथार्थ भविष्य’ र तपाईंहरूसँग भएको ‘विशेष अवसर’ बारेमा प्रत्यक्ष कुरा गर्न चाहन्थेँ,” उनले भने, “सायद यो हामीमध्ये धेरैका लागि करियर र जीवनको सबैभन्दा महत्त्वपूर्ण काम हो।”
‘एभरेस्ट फन्ड’मार्फत सहयोग जुट्ने
उनले अमेरिकामा स्थापना गरिएको ‘एभरेस्ट फन्ड’को उदाहरण दिँदै यस फन्डमार्फत नेपालमा परोपकारी सहयोग ल्याउन सकिने बताए। “अहिलेसम्म एभरेस्ट फन्डबाट प्राप्त हुने सहयोगको एकमात्र लाभार्थी तपाईंहरूको विश्वविद्यालय हुनेछ,” रामाकृष्णले स्पष्ट पारे।
उनका अनुसार दाताहरूलाई कर छुटको सुविधा हुने भएकाले यस्ता फन्डहरू सहयोग गर्न सहज माध्यम बन्नेछन्।
अमेरिकामा ६ खर्ब डलरभन्दा बढी वार्षिक दान
उनले अमेरिकामा मात्रै गत वर्ष ५ खर्ब ७० अर्ब डलर बराबरको दान संकलन भएको उल्लेख गर्दै यस वर्ष त्यो रकम ६ खर्ब डलर नाघ्ने अपेक्षा गरिएको जानकारी दिए। तीमध्ये करिब ५ प्रतिशत अर्थात् ३० अर्ब डलर विदेशमा खर्च हुने जनाउँदै उनले नेपालले पनि त्यसबाट लाभ लिन सक्ने सम्भावना औंल्याए।
अन्य देशमा पनि फन्डको विस्तार
रामाकृष्णले अस्ट्रेलिया, क्यानडा, बेलायत जस्ता देशहरूमा पनि यस्ता फन्ड विस्तार गर्ने योजना रहेको बताए। “नेपालसँग सम्बन्धित व्यक्ति, यहाँ भ्रमण गरेर माया गर्ने पर्यटक वा अन्तर्राष्ट्रिय संस्थाहरूलाई समेटेर दीर्घकालीन लगानीको वातावरण बनाउँदैछौं,” उनले भने।
उनले विश्वभरका सम्भावित दाताहरूसँग सकारात्मक संवाद गर्दै नेपालमा वास्तविक परिवर्तन ल्याउने अवसर प्रदान गर्ने आफ्नो दृढता व्यक्त गरे।


