नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा परिचालन

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा परिचालन सामाजिक बैज्ञानिकका रूपमा परिचालन भएका छन् । कलेजका सिभिल इन्जिनियरिङ विभागका २० जना विद्यार्थीहरूलाई सामाजिक वैज्ञानिकको रूपमा छनोट गरिएकाे हाे ।
उनीहरूले सरल उपकरण तथा मोबाइल प्रविधिको प्रयोगमार्फत वर्षा सम्बन्धी तथ्यांक अभाव रहेका क्षेत्रहरू र काठमाडौँ उपत्यका जस्ता अव्यवस्थित शहरी क्षेत्रहरूमा पानीको अध्ययन गर्नेछन् ।
जल स्रोतको दिगो व्यवस्थापनमा युवाहरूको भूमिका सशक्त बनाउने उद्देश्यले स्मार्टफोन फर वाटर नेपालले कलेजमा जानकारीमूलक आउटरीच कार्यक्रम पनि गरेको छ । S4W-नेपालका प्रमुख कार्यकारी अधिकृत डा. सञ्जीव न्यौपानेले अभियानले दिर्घकालिन जलश्राेत व्यवस्थापनमा टेवा दिने बताए । ‘यो परियोजना केवल तथ्यांक सङ्कलन मात्र होइन, युवाहरूमार्फत स्थानीय स्तरमै क्षमता विकास गर्ने अभियान पनि हो । हाम्रो प्रयासले दीर्घकालीन जल स्रोत दिगोपनामा योगदान दिनेछ ।’ न्याैपानेले भने ।

नेपाल इन्जिनियरिङ कलेजकै पूर्वविद्यार्थी समेत रहेका S4W-नेपालका प्रमुख कार्यकारी अधिकृत न्यौपानेको नेतृत्वमा आयोजित कार्यक्रममा परियोजनाको लक्ष्य, कार्यविधि र दीर्घकालीन प्रभावबारे जानकारी दिइएकाे थियाे ।
कार्यक्रममा सिभिल इन्जिनियरिङ विभागका प्रमुख एसोसिएट प्रोफेसर रमेश खनालले बोल्दै भने, ‘हाम्रा आफ्नै पूर्वविद्यार्थी यस्ता सकारात्मक कार्यमा अगाडि देखिनु गर्वको विषय हो । यस्ता कार्यक्रममा सहभागी हुँदा विद्यार्थीहरूले व्यवहारिक ज्ञान प्राप्त गर्ने मौका पाउँछन्, जुन भविष्यमा उनीहरूको काममा उपयोगी हुन्छ ।’
छनोट गरिएका विद्यार्थी तथा सामाजिक वैज्ञानिकहरूलाई तथ्यांक संकलन विधिबारे अभिमुखीकरण गरिएको छ । S4W-नेपालले नागरिक वैज्ञानिकतालाई प्रोत्साहन गर्दै नेपालमा जल स्रोतसम्बन्धी अनुसन्धान र व्यवस्थापन प्रणालीमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा लिएको छ ।