चालु आवको ८ महिनामा भित्रियो साढे १० खर्ब बढी रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा साढे १० खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी प्रतिवेदनअनुसार फागुन मसान्तसम्म कुल रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो ।
गत वर्षको सोही अवधिको तुलनामा यो ९.४ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा हेर्दा रेमिट्यान्स ६.९ प्रतिशतले बढेर ७ अर्ब ७४ करोड डलर पुगेको छ ।
विशेषगरी नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर हुँदा नेपाली मूल्यमा रेमिट्यान्सको आकार अझै ठूलो देखिएको राष्ट्र बैंकले जनाएको छ ।
फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । माघ मसान्तसम्म रेमिट्यान्स ९ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो ।
यस वृद्धि पछाडिको मुख्य कारण वैदेशिक रोजगारीमा गएका नेपालीहरूको संख्यामा भएको उल्लेखनीय वृद्धि हो । फागुन मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ ।
रोजगारीको खोजीमा विदेशिने नेपालीहरूको संख्यामा भइरहेको बढोत्तरी र रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर वृद्धिले नेपालका लागि विदेशी मुद्राको स्रोत सुदृढ बनाइरहे पनि, दीर्घकालीन रोजगारी सिर्जना, उत्पादनशील क्षेत्रमा लगानी तथा युवालाई स्वदेशमै आकर्षित गर्ने प्रयास अझै पनि चुनौतीकै रुपमा रहेको देखिन्छ ।