आईएमईको १९ औं बार्षिकोत्सवमा रक्तदान कार्यक्रम |
काठमाडौं । रेमिटेन्स कम्पनी आईएमईले आफ्नो १९ औं बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ‘१९औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको १९औं वार्षिकोत्सवको अवसर पारेर कम्पनीले पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केहि न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहित कूल ७० जना कर्मचारीहरूले रक्तदान गरेको कम्पनीले जानकारी दिएको छ । १९औं वार्षिकोत्सवको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही, व्यावसायिक साझेदार, सहकर्मी मित्रहरु, नियामक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई आभार व्यक्त गरेका छन् ।
‘हाम्रो व्यावसायिक यात्राका लागि तपाईंहरू सबैबाट प्राप्त सहयोग र सद्भावलाई हामीले सदैव मार्गदर्शनको रुपमा लिएका छौं । सानो आकारबाट शुरु भएको आईएमई आज एउटा व्यावसायिक ग्रुपको रुपमा स्थापित भएको छ । आईएमईले आर्जन गरेको शाख र प्रतिष्ठा तपाईंहरु सबैको अथक मेहनत र सद्भावको परिणाम हो । यसको श्रेय तपाईंहरू सबैसँग बाड्न पाउँदा हामीलाई निकै खुशी लागेको छ ’ अध्यक्ष तथा प्रवन्ध निर्देशकद्वारा जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।
कम्पनीले सन २००१ मा आफ्नो सेवा मलेसियाबाट संचालनमा ल्याएको थियो । हाल २ सय १ आईएमई सेन्टर सहित ७७ जिल्लाका करिव १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत कम्पनीले सेवा प्रदान गरिरहेको छ ।



