कुमारी बैंकको एटीएम देशकै सबैभन्दा अग्लो ठाउँमा, सगरमाथा जानेलाई सजिलो |
काठमाडौं । कुमारी बैंक लिमिटेडले सोलुखुम्बुको दिङ्गबोचेमा एटिएम सेवा शुरु गरेको छ । बैंकले सर्वोच्च शिखर सगरमाथा आरोही, पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले एटीएम राखेको जनाएको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, दिङ्गबोचे, सोलुखुम्बु स्थित ४ हजार ४१० मिटर उचाइमा अवस्थित एटीएम देशकै सबैभन्दा अग्लो ठाउँमा रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
एटीएमको उद्घाटन बैंकका नायब महाप्रबन्धक मनिष तिमिल्सिना तथा त्यस क्षेत्रका वरिष्ठ वासिन्दा फु ताशी शेर्पाले गरेका छन् ।
बैंकले देशभर रहेका ९० शाखा सञ्जाल, ८४ एटीएम, ३ एक्टेनशन काउन्टर लगायत ३ वटा शाखारहित ईकाई मार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।



