काठमाडौंबाट चीन र भारत जोड्ने रेलमार्गको निर्माण दुई बर्षभित्रै शुरु गरिने |
काठमाडौं । काठमाडौंबाट चीन र भारत जोड्ने दुवै रेलमार्ग दुई बर्षभित्रै निर्माण कार्य शुरु गरिने भएको छ । चीन जोड्ने रसुवागढी–काठमाडौं र भारत जोड्ने रक्सौंल–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन भैसकेकाले दुई बर्षभित्रै निर्माण शुरु हुने बताउदै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बर्षका लागि बजेट विनियोजन गरेका छन् ।
दिगो र सहज स्थल यातायातको माध्यम रेलमार्ग निर्माण गरि मुलुक नयाँ युगमा प्रवेश गर्न सक्ने भएकाले रेलमार्गलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उनले जानकारी दिए ।
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन भैसकेको पूर्वी खण्ड काँकडभिट्टाबाट निर्माण कार्य शुरु गरिएको छ । वाँकी खण्डको अध्ययन प्रतिवेदन तयार भएपछि मध्य र सुदुरपश्चिम खण्डबाट काम शुरु गरिनेछ ।
दक्षिण सिमानाकाबाट पूर्व–पश्चिम रेलमार्गको इटहरी–निजगढ–बुटवल र कोहलपुर जोड्ने रेल लाईनको काम अघि बढाईनेछ । जयनगर–विजलापुर र भारतको बथानाहा विराटनगर आगामी बर्ष रेल संचालन गर्ने लक्ष्य लिईएको छ । त्यसैगरी निर्माणाधीन विजलपुर–बर्दिवास खण्ड पुरा गर्न बजेट विनियोजन गरिएको छ ।
निजी क्षेत्रको लगानी सहभागितामा काठमाडौं उपत्यका र अन्य सहरमा मेट्रो तथा मनोरेलको सम्भाव्यता अध्ययन गरेर निर्माण गर्ने लक्ष्य राखिएको छ । मेट्रो, मोनो तथा रेलमार्गका लागि ७ अर्ब ७० करोड रुपैया विनियोजन गरिएको छ ।



