‘माइक्रोफाइनान्स कर्जामहत्वका साथ सञ्चालनमा ल्याएका छौं’

‘माइक्रोफाइनान्स कर्जामहत्वका साथ सञ्चालनमा ल्याएका छौं’
रमेशप्रसाद जोशी 
प्रमुख कार्यकारी अधिकृत, सिन्धु विकास बैंक
 
२०६७ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट आफ्नो सेवा शुरू गरेको सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी विगत १५ वर्षदेखि बैकिङ क्षेत्रमा काम गरिरहेका छन् । उनले यसअघि नेपाल बङ्लादेश बैंक, नेपाल बैंक तथा एनआईसी एशिया बैंकमा उच्च पदमा रही आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् । काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापन संकायमा विशिष्ट श्रेणीमा एम.फिल समेत गरेका जोशी हाल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेण्टको एम.बी.ए तहको भिजिटिङ फ्याकल्टीसमेतको रूपमा काम गरिरहेका छन् । हालसम्म उच्च श्रेणीका एस इन्स्टिच्युट अफ म्यानेजमेण्ट, हिमालयन ह्वाइटहाउस कलेज, काठमाडौं डनबोस्को कलेजजस्ता दर्जनौं कलेजमा आंशिक अध्यापनको कामसमेत गररिसकेका छन् । अहिले उनको काँधमा सिन्धु विकास बैंकलाई सफलतापूर्वक अगाडि बढाएर राष्ट्रियस्तरको बैंकसम्म बनाउने जिम्मेवारी रहेको छ । हाल ३ जिल्ला मात्र कार्यक्षेत्र रहेको यो बैंक ५ जिल्ला कार्यक्षेत्र बनाउन नेपाल राष्ट्र बैंकको अनुमतिलाई कुरेर बसेको छ । हाल बैंकको निक्षेप संकलन सवा २ अर्ब छ भने कर्जा १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । शाखा विस्तार, लगानीलगायतमा राष्ट्र बैंकको नीति निर्देशनभित्र रहेर कार्य गर्दै आएको यस बैंकले दुर्गम भेगमा वित्तीय साक्षरता, बैंकिङ पहुँचलगायतका क्षेत्रमा ठूलो योगदान पुर्याएको छ । प्रस्तुत छ, सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीसँग बैङ्कको वर्तमान वित्तीय अवस्था, लगानी मुनाफा, चुक्ता पूँजी पुर्याएपछिको अवस्था, कार्यक्षेत्रभित्र वित्तीय पहुँच एवम् साक्षरताको अवस्था, क्षेत्रीय विकास बैंकका चुनौतीलगायतका विषयमा केन्द्रित रही आर्थिक पाटीका  मदन लामिछानेले गरेको कुराकानी :
 
सिन्धु विकास बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
सिन्धु विकास बैंकको वित्तीय अवस्था एकदमै सवल छ । यस बैंकको निक्षेप संकलन सवा २ अर्ब छ भने कर्जा १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेका सबै सूचकहरू जस्तैः पूँजी, सीसीडी रेसियो, खराब कर्जा अनुपात, नाफा, जोखीम सबै राम्रो अवस्थामा रहेर बैंक सुदृढ अवस्थामा रहेको छ । यो बैंकले २०६७ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट आफ्नो सेवा शुरू गरेको हो । त्यो बेला यस क्षेत्रमा वाणिज्य बैंकहरूको उपस्थिति नहुनुका साथै वित्तीय पँहुचको अवस्थासमेत एकदमै न्यून थियो । सिन्धुपाल्चोकको उद्योग वाणिज्य संघमा आवद्घ भएका प्रतिष्ठित व्यवसायीहरूले त्यसबेला यो बैंकको शुरूवात गर्नुभएको थियो । नेपाल राष्ट्र बैंकले केही समयअगाडि आफ्नो नीति परिवर्तन गर्दै ३ जिल्ले विकास बैंकलाई ५ जिल्ले विकास बैंक भनेर परिभाषित गरेको छ । त्यसैले अब यो बैंक ५ जिल्ले विकास बैंक हुँदै छ । हामीले चितवन र मकवानपुरमा कार्यक्षेत्र विस्तार गर्नका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिइसकेको छौं । राष्ट्र बैंकले अनुमति दिनेबित्तिकै हामी यी जिल्लामा शाखा विस्तार गर्छौं । 
 
बैंकले दिँदै आएका सेवा सुविधाका बारेमा जानकारी दिनुस् न ?
हाम्रो बैंक सिन्धुपाल्चोक, दोलखा र काभ्रे जिल्लामा सञ्चालित छ । स्थानीय बैंक भएको र यहाँका मानिसहरूको जीवनस्तरमा सुधार होस् भन्ने प्रमुख उद्देश्य बैंकको भएको हुँदा निक्षेपमा बढीभन्दा बढी ब्याज दिने र कर्जामा कमभन्दा कम ब्याज लिने बैंकको योजना छ । यसबाट यो क्षेत्रमा लगानीको वातावरण पनि बन्छ र यो क्षेत्रको विकास हुन्छ भन्ने हाम्रो विश्वास छ । निक्षेप परिचालन गर्दा हामीले बजारमा अन्य बैंकहरूले जस्तै सबै क्षेत्रमा तिनीहरूको महत्वका आधारमा वर्गीकरण गरेका छौं । त्यसैका आधारमा हामीले कर्जा प्रवाह पनि गरिरहेका छौं । बचतमा धेरै ब्याज दिने बैंकहरूमध्ये हामी पनि पर्छौं । कर्जा दिँदा अत्यन्तै सर्वसुलभ ढङ्गले दिन्छौं । साथै, कर्जाको सही सदुपयोग भएर आममानिसको जीवनस्तर उठ्ने र बैंकको लगानी पनि सुरक्षित हुने क्षेत्रमा बैंकले महत्व दिँदै आएको छ । हामीले कर्जामा न्यून ब्याजदर लगाई बढी व्यवसाय गर्ने रणनीति अपनाएका छौं । कर्जा प्रवाहमा कतिपय वाणिज्य बैंकहरूको ब्याजदरभन्दा पनि हाम्रो ब्याजदर कम छ । बचतमा ८ प्रतिशत ब्याज दिँदै आएका छौं भने ऋणमा १२⁄१३ प्रतिशत ब्याजमा कर्जा दिइरहेका छौं । सिन्धु विकास बैंकको बचतको पोर्टफोलियो नै सबैभन्दा धेरै छ । साथै, बचतको पोर्टफोलियो पनि धेरै चलायमान नभएकाले बैंक अत्यन्त सवल अवस्थामा रहेको छ । बचतको प्रतिशत धेरै भएको र चलायमान पनि धेरै नभएकाले हाम्रो लागत कम हुने भएकाले यसकै आधारमा ऋण लिने हाम्रा ग्राहकहरूलाई कम ब्याजदरमा ऋण दिने सामाथ्र्य हामीहरूमा छ । 
 
'पहाडी क्षेत्र नै हाम्रो कार्यक्षेत्र भएकाले हामीले विभिन्न चुनौतीको सामाना गरेर आफ्नो सेवालाई विकट क्षेत्रसम्म पुर्याएका छौं । चितवन र मकवानपुरमा कार्यक्षेत्र विस्तार गरेपछि हामी तराईसँग
पनि जोडिन पुग्नेछौं ।'
 
सिन्धु विकास बैंकका शाखा कति छन् ? चालू आर्थिक वर्षमा कति थप्ने योजना बनाउनुभएको छ ?
सिन्धु विकास बैंकले हाल काभ्रे, सिन्धुपाल्चोक र दोलखामा गरी १३ वटा शाखा र २ ओटा एक्स्टेन्सन काउण्टर सञ्चालन गरिरहेको छ । चालू आर्थिक वर्षमा ६⁄७ ओटा शाखा खोल्ने योजना बनाएका छौं । तराई क्षेत्रमा कार्यक्षेत्र विस्तारको अनुमति पाएपछि हामी त्यतैतिर केन्द्रित भएर शाखा विस्तार गर्नेछौं । पहाडी जिल्लाका शाखाहरूलाई सञ्चालन मुनाफामा ल्याउन एकदमै कठिन हुन्छ । विभिन्न सफ्टवेयर राख्नुपर्ने, नेपाल राष्ट्र बैंकको नीति नियमको पालना गर्नुपर्ने तथा गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक सङ्ख्यामा कर्मचारी राख्नुपर्नेजस्ता कारणहरूले पहाडी जिल्लाका शाखालाई नाफामा ल्याउन कठिन छ । 
 
पहाडी क्षेत्र नै हाम्रो कार्यक्षेत्र भएकाले हामीले विभिन्न चुनौतीको सामाना गरेर आफ्नो सेवालाई विकट क्षेत्रसम्म पुर्याएका छौं । चितवन र मकवानपुरमा कार्यक्षेत्र विस्तार गरेपछि हामी तराईसँग पनि जोडिन पुग्नेछौं । तराई क्षेत्र बैंकिङ कारोबारका लागि उन्नत भूमि मानिने भएकाले यसपछि बैंकले फड्को मार्ने अपेक्षा गरेका छौं ।  
 
सिन्धु विकास बैंकका लगानीकर्ता (शेयर होल्डर) हरूले कस्तो प्रतिफल पाइरहेका छन् ?
यस बैंकले आफ्ना लगानीकर्तालाई राम्रो प्रतिफल दिँदै आएको छ । विगतमा पनि दोहोरो अंकको प्रतिफल दिँदै आएको थियो । आर्थिक वर्ष (आव) २०७३⁄७४ मा १६ प्रतिशतको प्रतिफल दिएको थियो । गतआव २०७४⁄७५ मा पूँजी एकै पटक चार गुणा बढाउनुपरेको र सबै पूँजीले राम्रोसँग कमाउन पनि नपाएको अवस्थामा नगद लाभांश र बोनस शेयर गरेर साढे ६ प्रतिशत प्रतिफल दिएका हौं । बोनस शेयरको बजार मूल्यलाई हिसाब गर्ने हो भने यो प्रतिशत पनि माथि नै आउँछ । गतआवमा अन्य बैंकहरूले दिएको लाभांशको तुलनामा हामीले दिएको प्रतिफललाई पनि राम्रो नै मान्नुपर्छ । आगामी दिनमा हामीले आएका मौकाहरूको सदुपयोग गर्दै चुनौतीहरूलाई चिर्दै लगानीकर्ताहरूलाई उच्चतम प्रतिफल दिने योजना बनाएर अगाडि बढिरहेका छौं । भविष्यमा संस्थाले राम्रो प्रगति गर्दै जाने कुरामा हामी आशावादी छौं ।
 
सिन्धु विकास बैंकको कर्जा र निक्षेपको अवस्था कस्तो छ ?
नेपाल राष्ट्र बैंकको सीसीडी रेसियोभित्रै रहेर हामीले कर्जा प्रवाह गरिरहेका छौं । क्षेत्रीय बैंक भएको हुनाले अत्यन्तै माथिल्लो स्तरको तरलताको जोखीम लिएर नाफा धेरै कमाउने भन्ने हाम्रो अवधारणा छैन । ग्राहकहरूले खोजेको बेला रकम भुक्तानी दिन नसकेर बैंकहरू डुबेको संसारभरको इतिहास छ । नाफा कम हँुदैमा यस्तो जोखीम हुँदैन । त्यसैले हाम्रा सञ्चालकहरूको चाहनाअनुसार नै हामीले सीसीडी रेसियोलाई एकदमै सहज अवस्थामा राखेर काम गरिरहेका छौं । 
 
काभ्रे, सिन्धुपाल्चोक र दोलखामा बैकिङ पँहुच  र वित्तीय साक्षरताको अवस्था कस्तो छ ?
हामीले बैंक सञ्चालन गर्दै आएका जिल्लाहरू सबैभन्दा कम बैंकिङ पहुँच  र वित्तीय साक्षरता भएका जिल्लाहरूमा नै पर्छ । अहिले सिन्धु विकास बैंक यो क्षेत्रको अग्रणी बैंक हो । तीन जिल्लामा यो बैंक नै सबैभन्दा पहिले स्थापना भएको हो । यो बैंक जुनजुन ठाउँमा छ, त्यहाँ रहेका अन्य वाणिज्य बैंकहरूभन्दा पनि यो बैंक अगाडि रहेको छ । वित्तीय चेतना तथा आममानिसको आवश्यकता पूर्तिका लागि यस क्षेत्रमा यो बैंकले निकै ठूलो गुन लगाएको छ । यसमा हामीलाई गौरव पनि छ । तर पनि यस क्षेत्रमा बैंकिङ साक्षरता अझै पुगेको छैन । हामी यसै क्षेत्रमा जन्मेको बैंक भएको नाताले पनि यस क्षेत्रमा अझै हामीले धेरै काम गर्नु पर्छ भन्ने मान्यता राखेर अन्य सामाजिक उत्तरदायित्वका कामलाई पनि जोड दिँदै आएका छौं ।  
 
 
क्षेत्रीय बैंकका सकारात्मक पक्ष तथा चुनौतीहरू के के देख्नुहुन्छ ?
सबैभन्दा पहिले क्षेत्रीय बैंकका सकारात्मक पक्षहरूका बारेमा कुरा गरौं । क्षेत्रीय बैंकहरू जनताका घरदैलोमै खुलेका हुन्छन् । त्यसले गर्दा बैंक र जनताबीचको सहकार्य, सद्भाव तथा विश्वास बढी हुने गर्छ । जसले गर्दा निक्षेप संकलन तथा कर्जा प्रवाहको माहौल स्वतः बन्न जान्छ । यस्ता बैंकलाई मार्केटिङमा धेरै खर्च गर्नुपर्ने आवश्यकता पर्दैन । सानो बैंक भएको नाताले भोलि राष्टियस्तरमा जाने, वाणिज्य बैंक बन्ने जस्ता वृद्दिका अवसर हुन्छन् । कहीँ न कहीँ राष्ट्रका प्राथमिकताभित्रका अन्य सेवा सुविधा पनि पाउने अवस्था रहन्छ ।
 
'यो बैंक जुनजुन ठाउँमा छ, त्यहाँ रहेका अन्य वाणिज्य बैंकहरूभन्दा पनि यो बैंक अगाडि रहेको छ । वित्तीय चेतना तथा आममानिसको आवश्यकता पूर्तिका लागि यस क्षेत्रमा यो बैंकले निकै ठूलो गुन लगाएको छ । यसमा हामीलाई गौरव पनि छ । तर पनि यस क्षेत्रमा बैंकिङ साक्षरता अझै पुगेको छैन । हामी यसै क्षेत्रमा जन्मेको बैंक भएको नाताले पनि यस क्षेत्रमा अझै हामीले धेरै काम गर्नु पर्छ भन्ने मान्यता राखेर अन्य सामाजिक उत्तरदायित्वका कामलाई पनि जोड दिँदै आएका छौं ।'
 
चुनौतीहरूको कुरा गर्दा थुप्रैे चुनौतीहरू पनि छन । विकट भौगोलिक अवस्थाका कारणले आवतजावत गर्न पनि कठिन हुन्छ, वर्षाको समयमा त यातायात नै ठप्प हुने अवस्थासमेत हुन्छ । पैसाहरू एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा कठिन भूगोलहरू पार गरेर लानुपर्ने भएकाले जोखीम हुन्छ । सुरक्षाको अवस्था पनि त्यति उच्चस्तरको हुँदैन । इण्टरनेट सेवाको पनि गुणस्तर अत्यन्त कम छ, जसको कारण सञ्चालनको गुणस्तरमा ठूलो चुनौती छ । ठूलो पैसाको आवश्यकता पर्ने हुनाले प्रविधिको एकदमै नवीनतम प्रविधिहरू प्रयोग गर्न सक्ने अवस्था रहँदैन । त्यसले गर्दा प्रविधिले ल्याउने जति पनि सकारात्मक पक्षहरू छन्, त्यसमा सोचे जसरी उच्चस्तरमा जान सक्ने अवस्था रहँदैन । त्यस्तै, विकास बैंकहरूलाई भूगोलकै कारण अत्यन्तै दक्ष कर्मचारीहरू पाउन पनि कठिन परिरहेको अवस्था छ । कर्जा दिने क्रममा पनि धेरै नै चुनौतीहरू छन् । ग्राहकहरू र बैंकबीचको दूरी धेरै हुने हुनाले सानोसानो कर्जा प्रवाह गर्दा पनि धेरै समय खर्चिनुपर्ने, यस क्षेत्रका धेरै मानिसको आयस्रोतको प्रकृति नै खेतीपाती र गाईवस्तु पालन हुनेहुनाले आम्दानी र तिर्नुपर्ने दायित्वबीच असामञ्जस्यता रही बैंकको ऋण भुक्तानीको जोखीम सृजना गरेको हुन्छ । त्यस्तै धितोमा चुनौती छन् । सबै क्षेत्र नै ग्रामीण क्षेत्र जहाँ मोटरबाटोको उपलब्धता न्यून छ । यसले गर्दा ती धितोहरुको ऋण ‘डिफल्ट’ भएको अवस्थामा सजिलै विक्री हुने अवस्था अलि कम हुन्छ । धेरै जसो वाणिज्य बैंकहरूको त मोटरबाटो नभएको जग्गामा ऋण नदिने नीति नै हुन्छ । तर, हामीले स्थानीयस्तरमा बसेर काम गर्दा यी आधारहरूलाई खुकुलो बनाएर नै जानुपर्ने हुन्छ ।
 
दुर्गम क्षेत्रमा शाखा सञ्चालन गर्न कत्तिको सहज छ ?
एउटा शाखा खोलिसकेपछि ५\७ जना कर्मचारी राख्नैपर्ने हुन्छ । यसमा कम्प्रोमाइज गर्दा सञ्चालन जोखीम उत्पन्न हुन्छ । साथै, पैसा मोभिलाइजेशन गर्ने क्रममा पनि बाटोघाटोको अवस्थाका कारण महँगो पर्न जान्छ । जस्तो, काठमाडौंबाट दोलखाको चरिकोटमा पैसा पठाउनुपर्यो भने ८\९ हजार त गाडीभाडा नै लाग्छ । यी चुनौतीहरू पक्कै छन् । अपरेशन कष्टमा मान्छेको कष्ट, सञ्चालनको कष्ट, प्रविधिको कष्ट पनि जोडिन्छ । इण्टरनेटको गुणस्तर अत्यन्त कम भई सेवामा बेला बेलामा रोकावट पैदा हुन्छ । यस्तो अवस्थामा एउटै शाखामा हामीले दुई÷तीनवटा विकल्पका इण्टरनेट लाइन जोड्नुपर्ने बाध्यता हुन्छ । कुनैकुनै ठाउँमा त नेपाल टेलिकमसँग विशेष अनुरोध नै गरेर पनि लाइन लिएर चलाएका हुन्छौं । एउटै शाखा सञ्चालन लागि मात्रै ३०\४० हजार रुपैयाँ प्रतिमहिना इण्टरनेटमा खर्च गर्नुपरेपछि पक्कै पनि त्यसको सञ्चालन लागत महँगो हुन्छ ।
 
'बचतको पोर्टफोलियो पनि धेरै चलायमान नभएकाले बैंक अत्यन्त सवल अवस्थामा रहेको छ । बचतको प्रतिशत धेरै भएको र चलायमान पनि धेरै नभएकाले हाम्रो लागत कम हुने भएकाले यसकै आधारमा ऋण लिने हाम्रा ग्राहकहरूलाई कम ब्याजदरमा ऋण
दिने सामार्थ्य हामीहरूमा छ ।'
 
दुर्गम क्षेत्रमा बैंकलाई सञ्चालन मुनाफामा ल्याउन कठिन हुँदाहुँदै पनि तपाईंहरू कसरी अगाडि बढिरहनुभएको छ ?
संस्था दीर्घकालसम्म बाँचिरहन यसले आम्दानी त गर्नै पर्छ । तर, नाफाप्रतिको मानिसहरूको उत्प्रेरणाको स्तर, मात्रा, प्रवृत्ति, समय, र नाफा नहुँदा वा कम हुँदा मानिसले गर्ने प्रतिक्रिया भने फरकफरक हुन्छ ।  व्यापार एउटै भए पनि त्यसमा संलग्न हुने र त्यसबाट प्राप्त गर्न खोजेका परिणाम मानिसको स्वभावअनुसार फरकफरक हुन्छ । यहाँका प्रमोटरहरूले यहाँ धेरै चुनौती छन् भन्ने कुरा बुझेरै यो बैंक खोलेका हुन् । स्थानीय मानिसहरूले स्थानीयस्तरमा खोलेको बैंक भएकाले होला, छोटो अवधिमा धेरै मुनाफा आर्जन गर्न नसके पनि बैंकिङ क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने भावनाबाट ओतप्रोत भएका मानिसहरू यस बैंकमा संलग्न भएकाले हामीलाई काम गर्न धेरै सजिलो भएको छ । त्यसैले हामी सन्तुलित सोच र दीर्घकालीन आशा तथा लक्ष्यहरूबाट परिचालित हुँदै अगाडि बढिरहेका छौं ।
 
अहिले वाणिज्य बैंकहरू पनि गाउँगाउँमा पुगिसकेका छन् । ठूला बैंकहरूसँग प्रतिस्पर्धा गर्नु पक्कै चुनौतीपूर्ण कार्य नै हो । ठूला बैंक आएपछि विकास बैंकलाई कस्तो असर परिरहेको छ ?
पक्कै पनि यो अवस्थाले ग्रामीण क्षेत्रमा सञ्चालन भएका विकास बैंकहरूलाई केही न केही असर परेको छ । त्यसका आयामहरू खोतल्दै जाने हो भने एउटा मान्छे पैसा राख्न आउँदा के सोचेर पैसा राख्छ ? लोन लिन आउँदा किन आउँछ ? कस्तो खालको संस्थामा आउँछ भनेर विश्वव्यापी रूपमा अध्ययन भएर केही प्रमाणित तथ्यहरू हाम्रा अगाडि छन् । त्यो हेर्दै जाँदा वाणिज्य बैंकको पूँजी ठूलो हुने, कारोबार ठूलो हुने, नेटवर्किङ ठूलो हुने, सेवा सुविधा बढी मात्रामा हुने, ठूलो संस्थासँग आवद्घ हुन खोज्ने मानवीय प्रवृत्ति आदिका कारण धरै मानिसको पहिलो रोजाइ वाणिज्य बैंक भइदिन्छ । यसले विकास बैंकहरूले पनि ठूलै प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाको सृजना गरेको छ । तर, त्यति हुँदाहुँदै पनि विकास बैंकका आफ्नै सुन्दर र सवल पक्षहरू छन् । सुन्दर पक्षमध्ये मैले भन्न चाहेको विश्वास हो । हामी नेपालीहरूको विश्वासको प्रकृति आफ्नै खालको छ । नेपालीहरू कसलाई विश्वास गर्छन् ? कहिले विश्वास गर्छन्, कति बेला विश्वास गर्छन् ? विश्वास किन गर्दैनन् भन्ने प्रश्नको उत्तरमा हामीले बुझेको के हो भने त्यही ठाउँमा जन्मेको, त्यही ठाउँमा हुर्केका दाजुभाइहरूले खोलेको र त्यसै ठाउँमा आफ्नो सम्पूर्ण स्रोत, सम्पूर्ण शक्ति लगाएर आफ्नो विकास गर्ने र प्राप्त प्रतिफलत्यसै क्षेत्रका मानिसहरूका सेवाका लागी उपयोग गर्ने अवस्थाले मानिसहरुको विकास बैंकहरू प्रतिको विश्वास अत्यन्तै उच्च छ । यो तथ्य डाटाहरूबाट पनि प्रमाणित गर्न सकिन्छ । वाणिज्य बैंक भएका ठाउँमा पनि विकास बैंकहरूले आफूलाई राम्रोसँग उन्नत गराइरहेको उदाहरण पनि हामीसँग पर्याप्त  छन् ।
 
सिन्धु विकास बैंकले कुनकुन क्षेत्रमा लगानी गर्छ ?
सिन्धु विकास बैंकले अरू सबै बैंकहरूसरह सबै व्यक्तिगत प्रयोजनका निमित्त आवश्यक पर्ने जस्तैः घर निर्माण, जग्गा खरिद, सवारीसाधन खरिद, उच्च शिक्षा, उपचार आदि सबै प्रयोजनका लागि ऋण दिनुका साथै नयाँ व्यापार शुरू गर्न, भइरहेको व्यापारमा थप वृद्घि गर्न, कुनै उत्पादनमूलक कार्य गर्न, वस्तु निकासी गर्नेलगायतका व्यापारिक प्रयोजनका लागि पनि लगानी गरिरहेका छौं । कुनै क्षेत्रको  वस्तुस्थिति र प्राविधिक रूपमा कुनै क्षेत्र र वस्तुमा लगानी बढी र कुनैमा कम हुने अवस्था भने पक्कै हुन्छ । हामीले अन्य धेरै संस्थाहरूले दिने लगानीको सुविधाको अतिरिक्त ग्रामीण क्षेत्रमै काम गरिरहेकाले माइक्रोफाइनान्स कर्जा महत्वका साथ सञ्चालनमा ल्याएका छौं । यसले यहाँका ग्रामीण क्षेत्रमा रहेका विपन्न, महिला, दलित जनजातिलाई व्यवसाय सञ्चालन गरी जीवनस्तर माथि उकास्न विभिन्न शीर्षकमा कर्जालगानी गर्दै आएको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई घर बनाउनुपर्यो भने, व्यवसाय गर्नुपरेमा, खेतीपातीका लागि समेत बैंकको प्रवद्र्धनमा सञ्चालनमा आएको माइक्रो फाइनान्सले ऋण उपलब्ध गराउँदै आएको छ । यसले नेपाल सरकारको महिला, दलित, जनजातिलगायत विपन्न वर्गलाई माथि उकास्ने नीतिलाई टेवा पुग्ने कुरामा आशावादी छौं । हामीले कृषिका लागि अत्यन्त उर्बर मानिएको काभ्रे, दोलखा र सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने कृषिसम्बन्धी परियोजनाहरू, हाइड्रोपावरमा लगानी गरिरहेका छौं ।
 
अहिले नयाँ मौद्रिक नीति आइसकेको अवस्था छ । यसले विकास बैंकहरूलाई कस्तो असर पारिरहेको छ ? यस नीतिले सम्बोधन गर्न नसकेका विषयहरू केही छन् कि ?
मौद्रिक नीतिले मुलतदेशको आर्थिक नीतिलाई सहयोग पुर्याउने लक्ष्य राखेको हुन्छ । देशले राजनीतिक रूपमा स्थिरता प्राप्त गरेको अवस्थापछि अब तीव्र आर्थिक विकास गर्नुपर्दछ भन्ने देशको प्राथमिकतालाई आवश्यक पर्ने मौद्रिक व्यवस्थापन गर्ने कुरामा मौद्रिक नीतिले राम्रै सम्बोधन गरेको पाइन्छ । संघीय सरकारहरूबाट हुने खर्चले मुद्राको माग बढ्ने आँकलन गरी मुद्रा व्यवस्थापन गर्ने भनिएको छ । रोजगारी प्रवद्र्घन र उद्यमशिलता विकासका लागि वित्तीय साधन परिचालनमा जोड दिने भनिएको छ । वित्तीय समावेशीकरण र वित्तीय साक्षरतामा जोड दिने भनिएको छ । मुद्रा स्फीतिलाई ६.५ प्रतिशतमा कायम गर्ने भनिएको छ । अल्पकालीन ब्याजदर परिवर्तनलाई संयमित बनाउन ब्याजदर कोरिडोरको परिधि घटाइएको छ । अनिवार्य नगद मौज्दात अनुपात सबै किसिमका वित्तीय संस्थाहरुलाई ४ प्रतिशत बनाईएको छ । साथै, वैधानिक तरलता अनुपात पनि सबै संस्थाहरूका लागि एक प्रतिशतले घटाइएको छ । यसले थप लगानीयोग्य पूँजी उपलब्ध हुनेछ । बैंक तथा वित्तीय संस्थाहरूले विदेशी मुद्राको अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्था गरेको छ । 
 
हामीले अन्य धेरै संस्थाहरूले दिने लगानीको सुविधाको अतिरिक्त ग्रामीण क्षेत्रमै काम गरिरहेकाले माइक्रोफाइनान्स कर्जा महत्वका साथ सञ्चालनमा ल्याएका छौं । यसले यहाँका ग्रामीण क्षेत्रमा रहेका विपन्न, महिला, दलित जनजातिलाई व्यवसाय सञ्चालन गरी जीवनस्तर माथि उकास्न विभिन्न शीर्षकमा कर्जालगानी गर्दै आएको छ ।
 
यसका अतिरिक्त पूर्वाधारका परियोजनाहरूमा विदेशी लगानीलाई प्रोत्साहित गर्न नेपाल राष्ट्र बैंकमा हेइजिङ फण्डको व्यवस्थाले विदेशी लगानीको अवसर हुनेछ । सबै संस्थाहरूलाई विपन्न वर्गमा प्रवाह गर्नुपर्ने सिमा ५ प्रतिशत तोकिएको छ । वाणिज्य बैंकहरूलाई सबै प्रदेशमा प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा बढाउनुपर्ने स्थितिको सृजना गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई दीर्घकालीन ऋणपत्र जारी गरी वित्तीय साधन परिचालन गर्न जोड दिई उक्त सीसीडीमा गणना गर्ने व्यवस्था गरिएको छ । समग्रमा हेर्दा मौद्रिक नीति राम्रै देखिन्छ ।
 
 
यो मौद्रिक नीतिले हामीजस्ता तीनजिल्ले विकास बैंकहरूलाई परेको असर हेर्दा यसले अवसर तथा चुनौती दुवै सृजना गरेको देखिन्छ । मौद्रिक नीतिका कारण हुने मूल्य नियन्त्रण, साधनको दीर्घकालीन उपलब्धता र परिचालन, वाणिज्य बैंकहरूको ग्रामीण क्षेत्रमा हुने थप योगदान आदिका कारणले तीन जिल्ले विकास बैंकहरूमा पनि यसको सकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ । अर्कोतिर, मौद्रिक नीतिले जति पनि राम्रा अवसरहरुको सृजना गरेको छ, विकास बैंकहरूले त्यसको फाइदा लिन निकै कठिन देखिन्छ । तथापि थप चुनौतीले थप ‘इन्नोभेशन’ पनि ल्याउँछ । हामीले थप अध्ययन गर्नुपर्ने, थप मिहिनेत गर्नुपर्ने अवस्थाको सृजना भने पक्कै गरिदिएको छ । 
 
सिन्धु विकास बैंकको आगामी योजना के छ ?
तत्कालको हाम्रो योजना भनेको ३ जिल्लाबाट ५ जिल्लामा जाने हो । राष्ट्र बैंकले ढोका खोलिदिनेबित्तिकै हामी ५ जिल्लामा गइहाल्छौं । अर्को मध्यकालीन योजना भनेको हामी १० जिल्लालाई कार्यक्षेत्र बनाउने रणनीति बनाएर बसेका छौं र त्यसपछि राष्ट्रिय स्तरमा जानेछौं । अहिले हामी राज्यको नीतिलाई ‘पर्ख र हेर’ अवस्थामा छौं । बैंकिङ संस्थाहरूको सम्बन्धमा राज्यले कस्तो नीति ल्याउँछ, त्यसैमा भर पर्छ । 
अहिले तरलताको अवस्था कस्तो छ ?
अहिले तरलताको अवस्था सामान्य नै छ । हालको अवस्थामा अर्थतन्त्रमा पैसाको अभाव देखिएको छैन । यद्यपि नेपालमा तरलताको अवस्थाको अध्ययन गर्दै जाने हो भने तरलताको पूर्वानुमान लगाउनचाहिँ कठिन छ । तथापि अहिलेको अवस्थामा बैंकहरूसँग लगानी गर्न पैसाको खाँचो छैन । सिन्धु विकास बैंकको सवालमा भन्नुपर्दा हामी सहज अवस्थामा छौं । हामीसँग ऋण दिनका लागि फण्डको कमी छैन ।
 
अन्त्यमा केही भन्नु छ कि ?
सिन्धु विकास बैंक पहाडी क्षेत्रको ग्रामीण समाजमा जन्मेको बैंक हो । त्यस कारण ग्रामीण अर्थतन्त्र र ग्रामीण समाजको विकासमा उच्च योगदान गर्ने गरी बैंक कसरी चलाउन सकिन्छ भन्ने कुरामा हामी लगातार अध्ययन गरिराखेका छौं । बैंकको प्रगतिका लागि प्रविधि अत्यन्तै महत्वपूर्ण हो र हामी यसलाई पनि त्यत्तिकै सशक्त रूपमा अगाडि बढाउन चाहन्छौ । तर, हामी ‘हाइटेक मात्र होइन, हाइ टच पनि त्यत्तिकै महत्वपूर्ण छ’ भन्ने मान्यतालाई आत्मसात् गर्ने प्रयासमा छौं । ग्रामीण समाजमा मानवीय सहयोग, भावना, एकआपसका सम्बन्धहरूले अत्यन्तै ठूलो भूमिका खेलेको भेटिन्छ । यस्तो समाजमा सफल बैंकिङ गर्न व्यवस्थापकीय दक्षताको एक महत्वपूर्ण अंगको रूपमा इमोशनल इन्टिलिजेन्स उच्च हुनुपर्ने कुरामा हामी विश्वस्त छौं । हालको बैंकिङ व्यवस्थापनमा यो पक्षले उचित स्थान पाइसकेको छैन । त्यस्तो नवीनतम बैंकिङ अवधारणा सिन्धु विकास बैंकबाटै शुरू होस् भन्ने चाहना राखेर इमोशनल इन्टेलिजेन्सका बारेमा अध्ययन गरिराखेका छौं । त्यसका लागि हामीले यस बैंकमा केही इण्टरभेन्सनहरू, केही टुल्सहरू राखेर अगाडि बढ्ने जमर्को गरेका छौं ।  मान्छे–मान्छेबीचमा कनेक्सन भएन भने प्रविधिले पनि काम गर्दैन । प्रविधि मान्छेकै लागि हो र प्रविधिभन्दा पहिले मान्छेको कनेक्सन, मान्छेको भावना नै आउँछ । दुनियाँमा जति पनि प्रविधिको विकास भएको छ, मान्छेको चाहना, सुखसुविधा, मान्छेको भावनालाई सकारात्मक सपोट गर्ने हिसाबले नै आएको देखिन्छ । अहिले बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा गर्न मूल्य, प्रविधि, नेटवर्किङ आदिमा मात्रै जोड दिइरहेको र यस्तो प्रतिस्पर्धा गर्न मानवीय मूल्य मान्यताहरूलाई कम महत्व दिइएकोे भन्ने गुनासाहरू बढ्दै गइरहेको परिप्रेक्ष्यमा सम्बन्धहरूलाई थप प्रगाढ र परिणाममुखी बनाउन इमोशनल कनेक्सन महत्वपूर्ण हुन्छ भन्ने कुरालाई हामी अत्यन्तै महत्व दिन चाहिरहेका छौं । यसका लागि इमोशनल इन्टेलिजेन्सका केही कुराहरू नेपालको बैंकिङ क्षेत्रमा प्रयोग गर्न खोजिराखेका छौं । यसकारण हामी सबै दाजुभाइ दिदीबहिनीहरूमा एक पटक सेवा गर्ने मौका प्रदान गर्न हुन विशेष अनुरोध गर्दछु ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय