'गोंगबु क्षेत्रमा हुने गरेका वेश्यावृत्तिलाई निमिट्यान्न पार्न हामी लागिसकेका छौं'

'गोंगबु क्षेत्रमा हुने गरेका वेश्यावृत्तिलाई निमिट्यान्न पार्न हामी लागिसकेका छौं'
पदम योङहाङ
अध्यक्ष, काठमाडौं होटल व्यवसायी संघ
 
पदम योङहाङ काठमाडौंको होटल व्यवसाय क्षेत्रमा परिचित नाम हो । विगत १८ वर्षदेखि होटल व्यवसायलाई नै आफ्नो मुख्य पेशा बनाउँदै आएका उनी हाल काठमाडौं होटल व्यवसायी संघका अध्यक्षसमेत हुन् । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–६, नागी निवासी उनी होटल व्यवसायीलाई सरकारले दोस्रो दर्जाको नागरिकको दृष्टिकोणले हेर्ने गरेको बताउँछन् । केही सीमित व्यवसायीले वेश्यावृत्तिजस्तो असामाजिक क्रियाकलापलाई प्रश्रय दिने गरेकाले तमाम होटल व्यवसायीले आक्षेप बेहोर्नुपरेकोमा उनको गुनासो छ । अंग्रेजी विषय लिएर डिग्रीसम्मको शिक्षा हासिल गरेर पनि होटल व्यवसायमा लागेका उनी यो पेशालाई मर्यादित र इज्जतदार बनाउन वेश्यावृत्तिलाई निमिट्यान्न पार्न आवश्यक भएको र यो अभियानमा काठमाडौं होटल व्यवसायी संघ लागिसकेको बताउँछन् । प्रस्तुत छ, काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष तथा फिदिम गेष्ट हाउसका सञ्चालकसमेत रहेका पदम योङहाङसँग होटल व्यवसायको अवस्था, मुख्य समस्याहरू, होटलमा हुनेगरेका वेश्यावृत्तिको नियन्त्रण, नीतिगत व्यवस्था, आगामी योजनालगायत विषयमा आर्थिक पार्टीका चक्र धमलाले गरेको कुराकानी :
 
काठमाडौंमा होटल व्यवसायको अवस्था के छ ? त्यसबारेमा केही बताइदिनुस् न ?
होटल व्यवसायको सवालमा विगतमा जे थियो, अहिले त्यो छैन । विगतमा परिस्थिति एक किसिमले असहज भए पनि मानिसहरूको चापको सवालमा भीडभाड नै थियो । व्यवसाय भनेको भीडभाड भयो भने, मानिसहरूको आवतजावत भयो भने मात्र हुने कुरा हो । विगतमा लगभग २० वर्षसम्म मुलुक एक किसिमको अन्योलमा रहेको थियो । त्यसपछि नेपालमा स्थानीय निकाय, प्रदेश र संघ तीनै तहको निर्वाचन सकिइसकेपछि मुलुकमा कायापलट नै हुन्छ, मुलुकमा सबै किसिमको असहज परिस्थिति सहजतामा रूपान्तरण हुन्छ भन्ने जनताले जुन आशा गरेका थिए, त्योअनुसारको हुन नसकेपछि अहिले हरेक सर्वसाधारण मानिस अन्योलमा रहेका छन् । जस्तो प्रदेश र केन्द्रको सन्दर्भमा संघीयताको कारणले गर्दाखेरि सबै कुराहरू कार्यान्वयन  त भएको छैन, यो नहुँदै गर्दाखेरि पनि यो केन्द्रीय राजधानी काठमाडौंमा सञ्चालनमा रहेका ५ हजारभन्दा बढी होटल व्यवसायमा प्रदेश र केन्द्रको यो हल्लाले मानिसहरूको आवतजावतमा असरचाहिँ परेको छ । त्यसो भएको हुनाले यसलाई सहज बनाउने कार्यमा काठमाडौं होटल व्यवसायी संघले विशेष किसिमले भूमिकाचाहिँ निर्वाह गरेको छ ।

''यहाँ दुई\चार जना व्यवसायीले छिट्टै पैसा कमाउने उद्देश्यले त्यस्तो काम गरेका पनि होलान् । तिनले गर्दा नै अन्य तमाम व्यवसायी बद्नामित हुनुपरेको छ । होटल संघले नै त्यस्तो आक्षेप खेपिराख्नुपरेको स्थिति छ । अब त्यसलाई निमिट्यान्न पार्न र सबैलाई एकतामा
ल्याउन हामी लागिसकेका छौं ।''

अहिले यो व्यवसायमा देखिएका मुख्य समस्याहरू के के छन् ?
काठमाडौं होटल व्यवसायी संघका सदस्यहरू विशेष गरी धेरै मात्रामा काठमाडौंको गोंगबु क्षेत्रमा रहेका छन् । हाम्रा सदस्यहरूलाई २०७२ सालको महाभूकम्पले तहसनहस नै बनायो, ठूलो संख्यामा धनजनको क्षति पनि गरायो, यो सबैलाई थाहा भएकै कुरा हो । यो घटनाले गर्दा हाम्रा ग्राहकहरू गोंगबु क्षेत्रमा आएर बस्नलाई नै अप्ठ्यारो मान्न थाले । राष्ट्रिय बसपार्क गोंगबु क्षेत्रमा मानिसहरूको चाप धेरै छ, यहाँ बनेका घरहर ३ तल्लादेखि ७ तल्लासम्मका छन् । मैले जोड्न खोजेको कुरा के हो भने यी घरहरू नक्सा पासको सवालमा ८ तल्लाका घरहरू २ देखि अढाइ तल्लामा मात्र नक्सा पास गरेर ८ तल्लाको घर बनाइएको अवस्था छ । भूकम्पले गर्दा यी घरहरूका मांसपेशीहरू तहसहस बनाएको अवस्था छ, त्यसपछि केही घरहरू टालिएका छन् । म घरधनीहरूलाई के निवेदन गर्न चाहन्छु भने पर्यटकहरू देशविदेशबाट, गाउँगाउँबाट आएका हुन्छन् । अहिलेको अवस्थामा फेरि त्यस्तै भूकम्प आउने हो भने गोंगबुमा २०औं हजार मानिसको मृत्यु हुन सक्छ । त्यसैले गोंगबु क्षेत्रका घरधनीहरू मापदण्डअनुसारका भूकम्परहित घरहरू निर्माण गर्नतिर लाग्नुपर्छ, साथै भूकम्पअगाडि बनिसकेर धराप बनेका घरहरूको पनि तल्ला घटाउनुपर्छ भन्ने मेरो भनाइ हो । भाडाको सवालमा त्यस्ता किसिमका घरहरू निर्माण गरिदिए हामी उचित भाडा तिर्न तयार छौं । व्यवसाय सञ्चालनको सवालमा नयाँ बसपार्क राष्ट्रिय बसपार्क भएको र लामो समयदेखि गोंगबु क्षेत्रमा नै होटल व्यवसाय गरिरहेको कारणले पनि यही हामीले यहीँ केन्द्रित हुनुपर्छ । राष्ट्रिय बसपार्क भएकाले यहाँ विभिन्न किसिमका मानिसहरू आउँछन् । केही व्यक्तिहरू वेश्यावृत्ति, आपराधिक क्रियाकलाप गर्ने मानसिकताले पनि आएका हुन्छन् । यहाँका सीमित व्यवसायीले  वेश्यावृत्तिजस्तो घृणित क्रियाकलापमा प्रश्रय दिएको समेत पाइएकाले तिनीहरूले गर्दा अरू व्यवसायीलाई समेत असर पर्यो । यसलाई नियन्त्रण गर्न हामीले प्रहरी प्रशासन र नागरिक समाजको सहकार्यमा एउटा अभियान नै सञ्चालन गर्यौं । यसो गर्दा हामीले केही असहज परिस्थिति पनि झेल्नुपर्यो । यति हुँदाहुँदै पनि हामीले त्यो अभियानलाई जारी नै राख्यौं । त्यसपछि वेश्यावृत्तिमा केही कमी पनि आएको छ । अहिले यस क्षेत्रमा सञ्चालन भइरहेका अन्य व्यवसायबाट पनि कोलाहल भएकाले होटल व्यवसायी र सम्पूर्ण गोंगबुवासीलाई समेत असर परिरहेको छ । राति सञ्चालन हुने डिस्को, दोहोरी साँझलगायतबाट ध्वनि प्रदूषण भइरहेको अवस्था छ । व्यवसाय सञ्चालन गर्दा एकले अर्कोलाई असर पुग्ने काम गर्नु हुन्न । त्यस्ता व्यवसाय कि त साउण्डप्रुफ बनाएर मात्र सञ्चालन गरिनुपर्यो, कि त त्यसको राम्रो व्यवस्थापन हुनुपर्यो भनेर हामीले सम्बन्धित निकायसँग कुरा राखिसकेका छौं ।
 
नक्सा पास नै नभएका थुप्रै घरहरू छन्, त्यसमा पनि भूकम्पपश्चात् ‘रेड स्टिकर’ लगाएका घरहरूसमेत रङरोगन गरी स्टिकर मेटेर सञ्चालनमा ल्याएको अवस्था छ, महानगरपालिकाले अनुगमन नगरेरै यस्तो अवस्था आएको हो त ?
मुख्य गरेर हामीले देख्दाखेरि त त्यही नै हो । यहाँ दुई तल्लाको नक्सा पास छ, तर रातारात तल्ला थपेर सात तल्लासम्म बनाएका छन् । यस्तो भएपछि जगले धान्ने अवस्था रहन्न । अर्को कुरा, यहाँ जति पनि घर बनेका छन्, व्यापारिक हिसाबले बनेका छन् । त्यही कारणले ठूलो जनधनको क्षति भएको छ । महाभूकम्प आउँदा हाम्रो व्यवसायमा एउटै घरमा ७९ जनासम्मको मृत्यु भएको छ । घर ढल्दा सबै सदस्यको मृत्यु भएर एक जना महिला मात्र बचेको उदाहरण पनि छ यो व्यवसायमा । श्रीमान् मात्र बाँचेको पनि उदाहरण छ । त्यस्तो अवस्थामा हामीले घर छोडेर बाहिर बस्यौं । व्यवसायबाटै विस्थापित भयौं । त्यस्तो अवस्थामा समेत भाडा र कर तिरेका छौं । झण्डै १ लाखको संख्यामा रहेका होटल व्यवसायीले अर्बौं राजस्व तिरेका छौं । तर, त्यस्तो अवस्थामा समेत सरकारबाट हामीले केही राहत पाएनौं । सरकारले हामीलाई अपहेलना गरेको छ, दोस्रो दर्जाको नागरिकको दृष्टिकोणले हेरेको महसुस गरेका छौं । 
 
यो सरकारबाट कस्तो आशा राख्नुहुन्छ ?
अहिले एउटा फरक ढंगले व्यवसायीहरू बढेर गए, त्यसो हुँदा जोसुकैले पनि होटल सञ्चालन गर्न थाले । यसलाई साना होटल व्यवसायी भन्छौं हामी । यहाँ कतिपय होटलहरू ४÷५ कोठामा सञ्चालन भएका तथा अत्यन्तै कम गुणस्तरीय पनि छन् र कतिपय होटल २५÷३० कोठामा सञ्चालन भएका डेढ करोड÷२ करोड लगानीका ठूला गुणस्तरीय होटलहरू पनि छन् । यी सबै होटललाई सरकारले हेर्ने दृष्टिकोण एउटै छ, कर पनि बराबरी नै तिरिरहेका छन् । त्यसो हुँदा होटल व्यवसाय सञ्चालनका लागि सरकारले नै मापदण्ड तोकिदिनुपर्ने आवश्यकता देखिएको छ । अहिलेको सरकारले लागू गरेको कर र मूल्य अभिवृद्धि करमा पनि अस्पष्टता देखिएको छ । त्यो के भने अन्तशुल्कमा दर्ता भएका व्यवसाय भ्याटमा जानुपर्छ भनेको छ । केही व्यवसायीहरू जाँदा नवीकरण गरेर पठाइदिन्छ । अर्को कुरा के हो भने तीन तहको निर्वाचन सम्पन्न भइसकेपछि अहिले स्थानीय तहलाई चलायमान बनाएको छ । अब स्थानीय निकायको वडामा व्यवसाय अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था आएको छ । हाम्रा व्यवसायीहरू सबैले कर तिरिरहेका छन् । सबैसँग कर चुक्ताको प्रमाणपत्र पनि छ । तर, वडा कार्यालयमा दर्ता गर्न जाँदा २० वर्षअगाडिदेखिको कर तिर्न बाँकी भन्दै जरिवानासहित वर्षौंदेखिको कर तिर्न भनिन्छ । यो त सरकारको नालायकीपन होइन र ? यसमा चाहिँ सरकारको ध्यान जानु आवश्यक छ ।
 
 
यही भदौ १ गतदेखि नेपालमा मुलुकी ऐन खारेज भई नयाँ ऐन लागू भएको छ, यसले व्यवसायमा कस्तो असर पार्ला ?
अहिले लागू भएको नयाँ कानूनमा प्रहरीले पक्राउ गरेर सार्वजनिक मुद्दा लगाउन नमिल्ने भन्ने आएको छ । त्यसमा अन्योलता देखिएको छ । प्रहरीले अपराधी वा गल्ती गर्नेलाई अदालतको पक्राउ पूर्जीबिना पक्राउ गर्न नमिल्ने भन्ने कुरा छ, यसले अन्योल देखिएको हो । अस्ति भर्खरै एयरपोर्टको एउटा होटलमा राति १२ बजे फोनमा धम्क्याउनुका साथै होटलमा तोडफोड गरियो, झ्यालका सिसाहरू फुटाइयो, प्रहरीको सहयोग माग्दा प्रहरी आएर पक्राउ त गर्यो तर भोलिपल्ट बिहानै छोडियो । हाम्रोजस्तो प्रजातान्त्रिक मुलुकमा प्रहरीले त्यस्ता व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्न सक्दैन भने, मुद्दा चलाउन सक्दैन भने यो पनि त अन्योल नै हो । यसमा स्पष्ट हुनुपर्यो ।
 
अहिले गोंगबु, सुन्धारा, गौशालालगायतका होटलहरू घण्टे सिष्टममा चलेका छन्, वेश्यावृत्तिमा होटल व्यवसायी लागेका छन् भन्ने चर्चा सुनिन्छ, यसमा यहाँको भनाइ के छ ? 
गोंगबु बसपार्क मानिसहरूको चाप बढी नै हुन्छ । त्यसलाई सामान्य रूपमा लिनुपर्छ । वेश्यावृत्तिको सवालमा के छ भने राति र बिहानको समयमा बाहिरबाट सामान्य मान्छे आयो भने उसले त्यहाँको परिस्थिति सहजै अनुभव गरिहाल्छ । सडकमा दिनदहाडै मोलमोलाइ हुन्छ र त्यस्ता मान्छेले होटलमा लैजान्छन् भन्ने हामीले सुनेका पनि हौं र एक÷दुईवटा मुद्दा पनि चलाइसकियो । बसपार्कमा यदि बाहिर चलेको हल्लाजस्तै वस्तुस्थिति हो भने त बाहिरबाट मान्छेहरू आउन गाह्रो हुने भो नि त । त्यसैले हामीले बसपार्कलाई सामान्य मानिसहरू आउनजान सक्ने किसिमको एउटा स्तर कायम गराउन र बसपार्क क्षेत्र सामान्य मानिसहरूका लागि बस्नलगायत सबै किसिमका कुराहरू गर्न सहज छ भन्ने सन्देश दिन सडक महोत्सव पनि गर्यौं । वेश्यावृत्ति नियन्त्रणका लागि विभिन्न संघसंस्था र प्रहरी प्रशासनसँग मिलेर एउटा अभियान नै चलायौं । सडकमा त्यस्ता किसिमका समस्याहरू पनि देख्यौं । त्यो समस्या त हामीसँगै जोडिएको रहेछ । त्यस्ता खालका मान्छे त सडकमा कुरा मिलाएर होटलमै आउँदा रहेछन् । दुई÷चार होटलमाथि कारबाही पनि गरियो । अहिले धेरै नियन्त्रणमा आएको छ । निकट भविष्यमा यस क्षेत्रलाई हामी शान्त र पर्यटकीय क्षेत्र घोषणा गर्छौं ।
 
होटल व्यवसायीले नै पनि त्यस्ता खालका केटीहरू राखेर वेश्यावृत्ति गराइरहेका हुन्छन् भन्ने सुनिन्छ नि ?
होटल व्यवसायमा पनि विविधता छ । यहाँ दुई÷चार जना व्यवसायीले छिट्टै पैसा कमाउने उद्देश्यले त्यस्तो काम गरेका पनि होलान् । तिनले गर्दा नै अन्य तमाम व्यवसायी बद्नामित हुनुपरेको छ । होटल संघले नै त्यस्तो आक्षेप खेपिराख्नुपरेको स्थिति छ । अब त्यसलाई निमिट्यान्न पार्न र सबैलाई एकतामा ल्याउन हामी लागिसकेका छौं ।

''हाम्रा व्यवसायीहरू सबैले कर तिरिरहेका छन् । सबैसँग कर चुक्ताको प्रमाणपत्र पनि छ । तर, वडा कार्यालयमा दर्ता गर्न जाँदा २० वर्षअगाडिदेखिको कर तिर्न बाँकी भन्दै जरिवानासहित वर्षौंदेखिको कर तिर्न भनिन्छ । यो त सरकारको नालायकीपन होइन र ?''

अहिले नेपालको होटल व्यवसायमा जनशक्तिको अभाव छ कि छैन ?

नेपाली युवायुवती पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकताले गर्दा त्यस्ता व्यक्तिहरू विदेश नै जाने गरेका छन् । त्यसले गर्दा पनि अहिले होटल व्यवसायमा दक्ष कामदारको अभाव छ ।
 
अहिले काठमाडौंमा होटल व्यवसायीको संख्या कति छ ? थपिने क्रम कस्तो छ ?
अहिले हाम्रो गोंगबु क्षेत्रमा मात्र झण्डै ३ हजारको संख्यामा होटलहरू सञ्चालनमा रहेका छन् । काठमाडौं जिल्लाभरि झण्डै ५ हजारको हाराहारीमा होटलहरू छन् । यसमा थपिने क्रम जारी नै छ ।
 
तपाईंहरूले सञ्चालन गरिरहनुभएको होटलका ग्राहक कुन स्तरका छन् ?
यहाँ सामान्यदेखि निकै स्तरीय होटल पनि छन् । हाम्रोमा आउने ग्राहक भनेका गाउँबाट काम विशेषले काठमाडौं आउने मानिसहरू र विदेशमा रोजगारी गरेर नेपाल फर्किने युवा तथा युवती नै हाम्रा मुख्य पाहुनाहरू हुन् । अहिले थप के छ भने छिमेकी देश भारतबाट नेपालमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनहरू पनि हुन् । भारतबाट आउने त्यस्ता व्यक्तिहरू सय डेढ सयको संख्यामा आउने गर्छन् । यो क्रम बढ्दो पनि छ । निकट भविष्यमा काठमाडौंका सबै पर्यटकीय स्थलहरू धरहरा, रानीपोखरीलगायतका ऐतिहासिक तथा पुरातात्विक स्थलहरू बनेपछि पर्यटकहरूको संख्या अवश्य बढ्नेछ । 
 
यो व्यवसायमा आउन चाहनेलाई के सुझाव दिनुहुन्छ ? 
मानिसहरू होटल व्यवसायमा छोटो समयमा धेरै पैसा कमाइ हुन्छ भन्ने सोचिरहेका छन् । त्यही भएर छिट्टै धेरै पैसा कमाइन्छ भनेर नबुझीकन मान्छेहरू यो व्यवसायमा हाम फाल्छन्, १० वटा कोठाको भाडा  ९० हजार १ लाख तिरेर व्यवसाय सञ्चालन गर्छन् । अनि २÷३ महिनापछि नै भाडा तिर्न नसकेर घरपट्टिले ताला लगाउने, वडा कार्यालयको चिट्ठी लिएर आउनेजस्तो समस्या बढिरहेको छ । आगामी दिनमा यस्तो घटना हुन नदिनका लागि संस्थामा आएर बुझेर मात्र व्यवसाय सञ्चालन गर्नुस् । समग्रमा नेपालमा होटल व्यवसायको सम्भावना राम्रो देखिन्छ ।
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय