मौद्रिक नीति समीक्षाको आन्तरिक तयारीमा जुट्यो केन्द्रीय बैंक

मौद्रिक नीति समीक्षाको आन्तरिक तयारीमा जुट्यो केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका लागि गृहकार्य गरिरहेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनाको आर्थिक सूचक तथा तथ्यांकहरु सार्वजनिक गरेसँगै राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा तयारीमा जुटेको हो । मौद्रिक नीतिको समीक्षाका लागि अहिले तथ्यांकहरु अध्ययन भइरहेको केन्द्रीय बैंकको भनाई रहेको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले भने, ‘अहिले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका लागि तथ्यांकहरुको अध्ययन भइरहेको छ । अबको एक साताभित्रै मौद्रिक नीति सार्वजनिक हुन सक्छ ।’ सामान्यतः मंसिर पहिलो साता समीक्षा सार्वजनिक हुने भए पनि यसपटक आम चुनावका कारण केही पर धकेलिएको छ । यता, केन्द्रीय बैंकले पनि अप्रत्यक्षरुपमा चुनाव र यसको नतिजातर्फ पनि ध्यान दिएको अनुमान गरिएको छ । 

त्रैमासिक समीक्षामार्फत नीति संशोधन गर्न मिल्छ । यसैसन्दर्भ पारेर व्यवसायीहरूले ब्याजदर नियन्त्रणका लागि उपयुक्त नीतिगत व्यवस्था गर्न दबाब दिइरहेका छन् । बैंकहरूले वित्तीय स्रोत आर्जन गर्दै जाने अवस्थामा ब्याजदर आफैँ नियन्त्रणमा आउने भएकाले राष्ट्र बैंकले ब्याजदरको सन्दर्भमा नीतिगत फेरबदल भने गर्नु नपर्ने अडान लिँदै आएको छ । यद्यपि, रेमिट्यान्समा वृद्धि र आयातमा आइरहेको कमीले शोधनान्तर स्थिति बचतमा गएपछि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी पनि बढ्दै जाने अनुमान गरिएको छ ।

राष्ट्र बैंकको पहिलो ३ महिनाको तथ्यांक अनुसार गत आर्थिक वर्षको प्रथम ३ महिनाको तुलनामा आयात १६.२% ले घटेको छ । त्यस्तै, रेमिट्यान्स आप्रवाह अमेरिकी डलरमा ७.९% ले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८७ अर्ब ७१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा पुगेको छ । 

 

 

 

 

No comment yet. Be the first one to comment.