सीजी मोटर्सद्वारा निटा ब्रान्डको ‘निटा भी’ विद्युतीय कार सार्वजनिक

सीजी मोटर्सद्वारा निटा ब्रान्डको ‘निटा भी’ विद्युतीय कार सार्वजनिक
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स वातावरणमैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको छ । चौधरी ग्रुप १५० वर्षभन्दा लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न रहँदै आएको नेपालको प्रतिष्ठित व्यवसायीक घराना हो । 
 
भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले चौधरी समूह विद्युतीय सवारी ब्रान्ड निटा नेपाली बजारमा सार्वजनिक गरेको छ । निटा ब्रान्ड चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ । 
 
सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउन आफुहरुले विद्युतीय सवारीको प्रवद्र्धन गरेको बताए । ‘सरकारले नेपालको व्यापार घाटाको मुख्य कारक रहेको सवारी साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थको खपत सन् २०५० सम्ममा आधामा झार्ने योजना बनाएको छ’, प्रबन्ध निर्देशक चौधरीले भने, ‘सरकारको यही योजनालाई सघाउन हामीले निजि र व्यवसायिक रुपमा प्रयोग हुने विद्युतीय सवारीसाधनको विस्तारमा लागेका हौँ ।’
 
सीजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोका क्रसओभर कार नेपाली बजारमा ल्याएको हो । अन्य अधिकांश सवारी उत्पादकले आइसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भएपनि निटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार भएकाले यो निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ ।