शब्दचित्रमा महासचिव पोखरेल

अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षदेखि एमाले महासचिवसम्म

शब्दचित्रमा महासचिव पोखरेल
नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुन । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गर्नुभएका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताका रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गरेका छन् । 
 
कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेका छन् । विक्रम सम्वत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रुपमा जन्मेका पोखरेललाई जनताको बहुदलिय जनवादका व्याख्याताका रुपमा लिने गरिएको छ । २०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५∕२०४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२∕२०६३ को जनआन्दोलनमा काठमाडाँैको आन्दोलनको नेतृत्व गरेका थिए । गणतन्त्रको पक्षमा त्रिचन्द्र क्याम्पस काठमाडाँैमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उनी प्रमुख वक्ता थिए । 
 
माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए । माओवादीहरुलाई शान्ति प्रक्रियामा ल्याउनका लागि गरिएको विभिन्न प्रकारका छलफलमा उनको सक्रिय सहभागीता रहने गर्दथ्यो । माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उहाँ सचिव हुनुहुन्थ्यो । जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लगेका थिए । संविधान सभामार्फत् राज्यको पुनːसंरचना आवश्यक रहेको निष्कर्षका साथ उनले पार्टीमा राज्य पुनःसंरचना सम्बन्धी लिखित दस्तावेज प्रस्तुत गरेका थिए । राज्यको पुनःसंरचना सम्बन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको उनी सचिव थिए । अघिल्लो संविधानसभामा राज्य पुनːसंरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नुभएका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्रनम्वर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । पार्टीको आठांै राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा उनले प्रस्तुत गरेको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार गरेको थियो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुमा पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत उनको नेतृत्वकारी भूमिका रहने गरेको छ । उच्चस्तरको बैचारिक क्षमता र कुशल वक्ताको रुपमा उनले संसदमा समेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सीमित सांसदहरुमा पर्छन ।
 
त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. तहको अध्ययन पुरा गरेका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुन । आर्थिक, सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचहरुलाई पार्टीको नवांै महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाका रुपमा आत्मसात गरेको थियो । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात् अब मुलुक आर्थिक सामाजिक विकास र रुपान्तरणको दिशामा अघि बढ्नुपर्दछ भन्ने पोखरेलले २०६६ सालमा सूचना तथा सञ्चार मन्त्रीको भूमिकामा रहेर उत्कृष्ट कार्य गरेका थिए । 
 
नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका रुपमा हेरिएका पोखरेल २०७४ सालको निर्वाचनमा दाङ क्षेत्रनम्वर २ (क) बाट प्रदेश सभामा निर्वाचित भई लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । संविधानको कार्यान्वयन गर्दै प्रदेश संरचनालाई स्थापित गर्न भूमिका खेलेका पोखरेलले लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेशका रुपमा स्थापित गरेका छन् । राष्ट्रिय राजनीतिमा नेतृत्वकारी भूमिका निर्वाह गर्नुभएका पोखरेलले पार्टी समस्यामा परेको बेला नेतृत्वदायी भूमिका खेल्दै आएका छन् । 
 
लामो समय पार्टी स्कुल विभागको उपप्रमुखको जिम्मेवारीमा रहेर पोखरेलले पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा निकै सक्रिय छन् । नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायमगर्न सक्ने नेताहरु मध्ये एक हुन । विगतमा पार्टी सचिवका रुपमा काम गरिसकेका पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रका विषय समेटिएका थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । उनले साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताका साथ कलम चलाएका छन् । पोखरेलले युगलहर, सिमानापारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्पलगायत पत्रिका र साहित्यिक रचना संग्रहरुको सम्पादन पनि गरेका छन् । एक्काइसौं शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादनमा समेत उनको नेतृत्वकारी भूमिका रहेको थियो । केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उनले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन गरेका थिए । पटक पटक जेल र दर्जनौं पटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गर्नुभएका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेताहरु मध्ये हुन । एमालेको भविष्यका रुपमा हेरिएका पोखरेल दशौं महाधिवेशनबाट महासचिव पदमा सर्वसम्मत निर्वाचित भएका छन् । 
 
संक्षेपमा शंकर पोखरेलः
  • विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तान  ।
  • त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. तहको अध्ययन पुरा गर्नुभएका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक ।
  • आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्य्दिशाको रुपमा आत्मसात ।
  • नेपालको बामपन्थी आन्दोलनमा स्थापित नेता ।
  • जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका ।
  • विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता ।
  • अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष ।
  • अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह ।
  • २०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५∕२०४६ पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनको नेतृत्वदायी भूमिका ।
  • २०६२∕२०६३ को जनआन्दोलनमा काठमाडाँैको मोर्चाबाट आन्दोलनको नेतृत्व  र गणतन्त्रका पक्षमा काठमाडाँै त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता  ।
  • माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा शान्ति पदयात्राको नेतृत्व
  • माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव ।
  • एमालेको सातौं महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव पेश ।
  • ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा निर्वाचित ।
  • छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई लामो समयसम्म पार्टी स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका  ।
  • ०५१ सालको मनमोहन अधिकारी नेतृत्व सरकारको नीति तथा कार्यक्रम र बजेट मस्यौदाकार ।
  • फ्रिपीपी (जनताले योजना बनाउने कार्यन्वयन गर्ने र मूल्याङ्कन गर्ने) का पिछल्लो योजनाकार तथा कार्यान्वय कर्ता ।
  • सतौ महाधिवेशन (जनकपुर) मा संविधान सभाको निर्वाचन मार्फत जतनाको राजनैतिक अधिकार सुनिश्चितता लागि शुत्रधार कर्ता ।
  • राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव ।
  • आठौं राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा प्रस्तुत गर्नुभएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार ।
  • केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन ।
  • साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताका साथ युग लहर, सिमाना परिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्पलगायत पत्रिका र साहित्यिक रचना संग्रहरुको सम्पादन साथै एक्काइसौं शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादन ।
  • नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरु मध्ये एक ।
  • लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको जिम्मेवारीमा रही प्रदेश संरचनालाई स्थापित गर्दै लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउन भूमिका खेलेका ।  
  • दशौं महाधिवेशनबाट महासचिव पदमा सर्वसम्मत निर्वाचित ।
०००
प्रस्तुतीː अजय शर्मा
 
No comment yet. Be the first one to comment.