एकै महिनामा मोबाइल वालेटबाट १४ अर्ब र क्युआर कोडबाट ५ अर्बको कारोबार

एकै महिनामा मोबाइल वालेटबाट १४ अर्ब र क्युआर कोडबाट ५ अर्बको कारोबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउनसम्मको तथ्यांक अनुसार क्युआर कोड स्क्यान गरेर मात्रै एक महिनामा झन्डै सवा १४ अर्ब रुपियाँको कारोबार भएको छ ।  
 
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नक्सालस्थित तरकारी तथा फलफुल बजारमा क्युआर कोडबाट भुक्तानी गरेर शुरुवात गरेको क्युआर कोड भुक्तानीले एक वर्षमै ऐतिहासिक कारोबारको रेकर्ड कायम गरेको हो । 
 
पछिल्लो समय मोबाइल वालेटको कारोबार एक वर्षमा ३० प्रतिशत तथा क्यूआर कोड स्क्यान गरी भएको कारोबार पनि करिब साढे ६ गुणाले वृद्धि भएको छ । साउन महिनामा मात्रै मोबाइल वालेटमार्फत एक करोड ३१ लाख ५५ हजार ५ सय १ पटक कारोबार भएको छ । यसबाट १४ अर्ब ५ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम र कारोबार संख्या वालेटमार्फत एकै महिनामा भएको हालसम्मकै उच्च हो । कारोबार संख्यामा धेरै वृद्धि नभएपनि कारोबार रकमको आधारमा हेर्दा यो गत वर्षको साउनको भन्दा झन्डै दोब्बर हो । गत वर्षको साउन महिनामा मोबाइल वालेटमार्फत १ करोड १ लाख ७७ हजार ८ सय ८९ वटा कारोबारबाट ७ अर्ब ५७ करोड ९० लाख रुपियाँ कारोबार भएको थियो ।
 
त्यसैगरी क्यूआर कोड स्क्यान गरी हुने कारोबारले पनि नयाँ रेकर्ड कायम गरेको छ । राष्ट्र बैंकका अनुसार साउन महिनामा मात्रै १२ लाख ९३ हजार ३ सय ४९ वटा कारोबार भएको छ । त्यसमार्फत चालु आवको साउन महिनामा ५ अर्ब ५ करोड ६० लाख रुपैयाँको भुक्तानी भएको हो । यो पनि एक महिनामा क्यूआर कोड स्क्यानमार्फत भएको हालसम्मकै सबैभन्दा धेरै रकमको कारोबार हो । अघिल्लो वर्षम साउनमा जम्म १ लाख ९५ हजार १६ वटा मात्र कारोबार भएको थियो । यसबाट ५८ करोड ९० लाख रुपियाँको मात्र कारोबार भएको थियो । क्युआर कोडको कारोबार संख्यामा साढे ६ गुणा र कारोबार रकममा साढे सात गुणाले वृद्धि देखिएको छ ।
 
विद्युतीय भुक्तानी तथा अनलाइन कारोबारको संख्या बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव अनलाइन सपिङमा पनि देखिएको छ । तथ्याङ्क अनुसार चालु आवको पहिलो महिनामा ई–कमर्श कम्पनीमा ६७ हजार ८९१ वटा कारोबार भएका छन्, जसमा ३८ करोड ७० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
 
नेपाल राष्ट्र बैंकले सहज रुपमा नीतिगत व्यवस्था गरिदिएको तथा नागरिकमा आएको जागरुपताका कारण पनि विद्युतीय कारोबारमा वृद्धि भएको हो । कोरोनाकाल भन्दा अगाडि र पछाडिको तुलना गर्दा उल्लेख्य रुपमा विद्युतीय कारोबारमा वृद्धि भएको देखिन्छ । क्यूआर कोड प्रयोग गर्ने क्रम बढ्दै जाँदा त्यसले समाजमा समेत सकारात्मक प्रभाव पारेको छ । 
 
खुद्रा पसल, तरकारी बजार तथा सामान्य व्यवसायमा समेत क्यूआरकोड प्रयोगमा वृद्धि हुँदै आएको छ । बैंक तथा वित्तीय संस्थाले फोन वा डिजिटल प्रणालीमार्फत कर्जासमेत उपलब्ध गराइसकेको अवस्था छ । 
 
मौद्रिक नीतिमा आर्थिक वर्ष २०७९∕८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रूपमा मनाउने लक्ष्य राखेको छ । त्यसका लागि चालू अवमा आवश्यक पूर्वाधारको विकास र चेतना अभिवृद्धिमा जोड दिने लक्ष्य छ ।
 
गभर्नर अधिकारीका अनुसार विद्युतीय भुक्तानीका उपकरणबीच अन्तरआवद्धता कायम गर्दै नेपालभित्र हुने भुक्तानी कारोबारहरूको राफसाफ तथा अभिलेखीकरण गर्न र नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याइनेछ । नेपाल विद्युत् प्राधिकरणले महसुल भुक्तानीमा केही वर्षपहिलेदेखि नै विद्युतीय प्रणाली सुरुवात गरिसकेको छ । काठमाडौँका अधिकांश वितरण केन्द्रको महसुलमध्ये झण्डै ५० प्रतिशत हिस्सा विद्युतीय प्रणालीमार्फत हुने गरेको छ । खानेपानीको बिलदेखि हवाई टिकट खरिदसम्म विद्युतीय माध्यमबाटै हुने गरेको छ । सरकारको राजश्वदेखि अन्य दैनिक उपभोग्य सामग्रीको खरिदमा समेत विद्युतीय भुक्तानीको मात्रामा बढोत्तरी भएको छ । नगद नै नभएपनि जीवन सहज रुपमा चलाउन सकिने अवस्था सिर्जना भएको छ । घर, कार्यालय वा आफूलाई आवश्यक परेको स्थानमा मोबाइलबाटै खाना तथा खाजा समेत मगाउन सकिने सहज वातावरण सिर्जना भएको छ ।
 
कनेक्ट आइपीएसमार्फत नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, राहदानी तथा ट्राफिक प्रहरीको जरिवाना तिर्न सकिन्छ । यस्तै, सवारी साधन खरिद, सेयरबजार कारोबार, बिमाशुल्क तथा इन्टरनेटको बिल, मोबाइल टेलिफोनको बिल तथा बालेटमा समेत पैसा राख्न सकिन्छ ।
 
No comment yet. Be the first one to comment.