३००० विन्दुमाथि नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो

३००० विन्दुमाथि नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर ३००० विन्दुभन्दा माथि बन्द भएको छ । नेप्से बढेसँगै यस दिन कारोबार रकम पनि ११ अर्ब नाघेको छ ।
 
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९ अंकको करेक्सन भएको बजार यस दिन करिब १९ अंक बढेको छ । बिहीबार नेप्से परिसूचक १८.७५ अंक बढेर ३००४.३१ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०६ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८८ अंक बढेको छ ।
 
यस दिन २२२ कम्पनीको १ लाख १४ हजार ७७२ पटकको कारोबारमा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार रुपैयाँ बराबरको ५ करोड ५९ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
 
यस दिन मूल्य बढ्ने १० शीर्ष कम्पनीहरुको सूचीमा अधिकांश म्युचुअल फण्ड र जलविद्युत कम्पनी रहेका छन्। जसमध्ये ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। यस दिन लक्ष्मी उन्नती कोष, ङादी ग्रुप पावर, सिईडिबी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, पोखरा फाइनान्स र लक्ष्मी इक्वीटी फण्डको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन शेयरमूल्य घट्ने कम्पनीहरुको गिरावटदर भने ५ प्रतिशतभन्दा कम छ ।
 
कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ८ उपसमूहको परिसूचक ओरालो लागेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ५.२७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन १.७२ प्रतिशत र वित्तको १.५२ प्रतिशत बढेको छ । यता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत घटेको छ ।
 
कारोबार रकमका आधारमा यस दिन कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ४६ करोड २१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया र नेपाल बैंकको ३६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
 
No comment yet. Be the first one to comment.