‘आइसीटी अवार्ड २०२१’ को अनलाइन नोमिनेशन शुरू, ११ विधा समावेस

‘आइसीटी अवार्ड २०२१’ को अनलाइन नोमिनेशन शुरू, ११ विधा समावेस

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसीटी अवार्डको छैटौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज (असार ८, २०७८ तदनुसार २२ जुन, २०२१) देखि शुरु भएको छ ।लिभिङ विथ आइसीटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आइसीटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधाहरूमा अवार्डको नोमिनेशन खुला भएको हो । 

दोस्रो लहरको कोभिड संक्रमण दर केही घटिरहेको अवस्थालाई मध्यनजर गर्दै आइसीटी अवार्ड २०२१ को अनलाइन नोमिनेशन खुला गरिएको आयोजकले जनाएको छ । गतवर्ष पहिलो लहरको संक्रमणको अवधिमा अधिकांश कार्यक्रम स्थगन भए पनि आइसीटी अवार्ड २०२० भर्चुअल माध्यमबाट नोमिनेशन र छनौट प्रक्रिया अघि बढाउँदै सम्पन्न भएको थियो ।

यस वर्षको आइसीटी अवार्डमा अधिकांश छनौट समितिका मिटिङहरू भर्चुअल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । आइसीटी अवार्डको छनौट प्रक्रियाको लागि दुई दर्जनभन्दा बढी जुरी र सल्लाहकारहरू रहेका छन् । विभिन्न ११ विधामा इच्छुक व्यक्ति, कम्पनी, प्रडक्ट वा संस्थाहरूले २०७८ साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन् । अवार्डमा प्रतिस्पर्धी आफै वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता हुनेछ । अवार्डमा नोमिनेशन गर्न आइसीटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी फारम भरेर बुझाउनु पर्नेछ ।

यस वर्ष गतवर्ष झैं विभिन्न ११ विधामा नोमिनेशन खुला भएको छ । स्टार्टअप आइसीटी अवार्ड, प्रडक्ट आइसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसीटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा प्रोजेक्टलाई अवार्ड गरिने विधाहरू रहेका छन् । व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा पायोनियर आइसीटी अवार्ड, नेपाली डायस्पोरा आइसीटी अवार्ड, आन्टरप्रेनर आइसीटी अवार्ड र वुमन आइकन आइसीटी अवार्ड छन् । 

यसैगरी सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसीटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसीटी अवार्ड (प्राइवेट सेक्टर) रहेका छन् । सन् २०१६ देखि शुरु भएको आइसीटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन् । अवार्डमा गतवर्षको ह्वावे आइसीटी अवार्ड २०२० मा ४०० सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो । 

यस वर्ष अवार्डको छनौट प्रक्रियालाई अझ व्यवस्थित र निष्पक्ष बनाउन १२ भन्दा बढीको जुरी समूहद्वारा ३ महिनासम्म विभिन्न चरणमा विजेताको छनौट गरिने आयोजकले जनाएको छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन विधामा ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ घोषणा गर्दै पब्लिक भोटिङ सञ्चालन गरिनेछ । अन्य विधाहरूमा पनि विभिन्न ४ चरणका भर्चुअल छनौट र फिल्ड भिजिट समेत सञ्चालन हुनेछ ।

मंगलवार भर्चुअल प्रेस कन्फ्रेन्स आयोजना गर्दै आयोजकले विभिन्न ११ विधाको लागि नोमिनेशन खुल्ला गरेको हो । कन्फ्रेन्समा बोल्दै आयोजक समितिका संयोजक राजन लम्सालले हरेक वर्ष अवार्डलाई परिस्कृत गर्दै बृहत बनाउन लागि परेको बताए । उनले आइसिटी अवार्ड प्रविधि क्षेत्रमा सम्भावना र उत्कृष्टताको खोजी गर्ने अभियानको रुपमा अगाडी बढेको बताए । 

यसैगरी जुरी संयोजक सुशिल पोखरेल र प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले आइसीटी अवार्डलाई हरेक पक्षबाट स्तरिय र विश्वसनिय बनाउन लागिपर्ने धारणा व्यक्त गरे । प्रा.डा. शुवर्ण शाक्यले नेपालमा भएका अवार्डमध्ये आइसिटी अवार्ड सबैभन्दा विश्वसनिय र निष्पक्ष रहेको बताए । 

भर्चुअल कार्यक्रममा बोल्दै पूर्वमन्त्री गणेश शाहले आइसिटी क्षेत्रलाई अझ फराकिलो बनाउदै लानुपर्ने र यसको लागि अवार्डले सार्थक बनाइरहेको बताए । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले आइसिटी अवार्डले नेपालको आइसिटी क्षेत्रलाई प्रवद्धन गरेर बताउदै उनले नीजि तथा सरकारी क्षेत्रको सहकार्यमा डिजिटल नेपालका अभियान सार्थक बनाउनुपर्ने बताए । 

अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।   
 

 

 

No comment yet. Be the first one to comment.