आर्थिक र बौद्धिक लगानी उत्तिकै महत्वपूर्ण छन्

आर्थिक र बौद्धिक लगानी उत्तिकै महत्वपूर्ण छन्
जीवा लामिछाने
संरक्षक तथा पूर्वअध्यक्ष, गैरआवासीय नेपाली संघ 
 
जीवा लामिछाने गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि नै लगातार सक्रिय रहँदै आएका छन् । नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीहरूले सामूहिक लगानीबाटै टेवा पुर्याउन सक्ने विश्वास लामिछानेको छ ।  संघको संरक्षक तथा पूर्वअध्यक्षसमेत रहेका लामिछानेसंग गैरआवासीय नेपाली संघको समाचार संयोजक चिरन शर्माले नेपालमा हुन लागेको विज्ञ सम्मेलनको सम्बन्धमा गरिएको कुराकानी :
 
गैरआवासीय नेपाली संघलाई विज्ञ सम्मेलन गर्न के आवश्यक पर्यो ?
राजनीतिक एजेण्डा सम्बोधन भइसकेकाले अब मुलुक आर्थिक विकासमा केन्द्रित हुनेछ । गैरआवासीय नेपाली समुदायको त्यसमा भूमिका रहनेछ भन्ने कुरामा मलाई सन्देह छैन । नेपालको भावी यात्रालाई सफल बनाउन हामीले संसारभरिबाट क्षमताअनुसारको साधनस्रोत जुटाएर, आफ्नो ज्ञान र सीप लगाएर ठूलो उत्साहका साथ हातेमालो गर्नुपर्छ । राष्ट्र निर्माणको यो अभियानमा योगदान गर्नका लागि विदेशमा रहेका प्रविधि, ज्ञान र क्षमतायुक्त मानव संसाधनको बढीभन्दा बढी प्रयोग गर्ने उद्देश्यले यो सम्मेलन गर्न लागिएको हो । नेपालले हामीबाट यही भूमिकामा अझ व्यापक र विस्तार होस् भन्ने अपेक्षा गरेको छ ।
 
 
नेपाल सरकारले देशमा ट्रेन, ग्यास, पानी जहाज, १०औं हजार मेघावाट बिजुलीलगायतका महत्वाकांक्षी  योजना अघि सारेको छ, यी योजनामा एनआरएनले कसरी टेवा पुर्याउन सक्छन् ?
पूर्वाधार निर्माण, विशेषगरी जलविद्युत् उत्पादनमा गैरआवासीय नेपालीले लगानी गरेका छन् । त्यस क्षेत्रमा लगानी अझै बढ्न सक्छ । त्यसैगरी पर्यटन, कृषि आदि क्षेत्रमा पनि केही साथीहरूले लगानी गर्नुभएको छ । वर्तमान कार्यसमितिका साथीहरूले पूर्वाधार निर्माण र ठूला योजनामा लगानी गर्ने उद्देश्यले सरकारको समेत सहभागिता रहने गरी ‘सामुहिक लगानी कोष’ स्थापना गर्ने दिशातर्फ गृहकार्य शुरू गरिसकेको मैले खबर पाएको छु । सामूहिक सहभागिताका आधारमा सरकारले अघि सारेका योजनाहरूमा गैरआवासीय नेपालीहरूले अवश्य लगानी गर्नेछन् ।
 
आर्थिक लागानी छाडेर एनआरएन बौद्धिक लगानीतिर लाग्न थालेको हो भन्न मिल्छ ?
गैरआवासीय नेपालीको लगानीको कुरा गर्दा आर्थिक र बौद्धिक लगानी उत्तिकै महत्वपूर्ण छन् । आर्थिक लगानीको कुरा गर्दा देशको अर्थतन्त्रलाई कायापलट गर्ने गरी लगानी गर्न सक्ने हैसियत हाम्रो अझै बनिसकेको छैन । पहिलो पुस्ता भएर पनि नेपाली डायस्पोराले छोटो समयमा गरेको प्रगतिलाई कम आँक्न मिल्दैन । केही समययता व्यापार, व्यवसायमा उल्लेख्य प्रगति गर्ने नेपालीको संख्यामा व्यापक वृद्धि हुँदै छ । केही अग्रज नेपालीको सफलताको कथाले अरू नेपालीलाई पनि आफ्नो क्षमताले केही शुरूआत गर्नुपर्ने रहेछ भन्ने भावना जगाइदिएको छ । जोखिम लिनुको सट्टा जागिर खाएर ढुक्कको जीवन गुजार्ने मानसिकतालाई अलिकति जोखिम होस् तर उद्यमी नै बन्नुपर्छ भन्ने भावनाले विस्थापित गर्दै छ । तर, गैरआवासीय नेपालीहरूले बौद्धिक क्षेत्रमा अहिले नै ठूलो योगदान गर्न सक्ने सम्भावना मैले देखेको छु । कतिपय बहुउद्देश्यीय कम्पनीका उच्च तहमा अहिले नेपालीलाई भेट्न सकिन्छ । त्यसैगरी विश्वका प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान प्रतिष्ठानमा नेपाली समुदायको गर्विलो उपस्थिति देखिइसकेको छ ।
 
नेपालमा हुँदै गरेको राजनीतिक स्थायित्वपछि गैरआवासीय नेपालीहरूको भूमिका फेरिएको हो ?
हाम्रो अभियानको मूलमन्त्र नै ‘नेपालीका लागि नेपाली’ भएकाले हाम्रो भूमिका संधै नेपालको समग्र उन्नतिमा योगदान पु¥याउने नै हो । हामीले त्यो मूल भावनालाई कहिल्यै कमजोर हुन दिनु हुन्न । उद्देश्य त्यही हो । त्यसलाई निर्वाह गर्ने बाटो फरक–फरक हुन सक्ला । देशमा अहिले राजनीतिक स्थिरता कायम रहेकोले हामीलाई यो जिम्मेवारी निर्वाह गर्ने राम्रो वातावरण बनेको मैले महसुस गरेको छु ।
 
वर्तमान कार्य समितिबारे तपाईंका टिप्पणी ?
यस विषयमा अहिले टिप्पणी नगरौं । पुरानो कार्यसमितिले शुरू गरेको प्रोजेक्टलाई वर्तमान कार्यसमितिले समयमै सम्पन्न गर्नेछ भनेर कबूल गरेको छ । त्यो समय–सीमासम्म उहाँहरूलाई काम गर्न दिऊँ ।
 
गैरआवासीय नेपाली समुदायलाई तपाईंको केही भन्नु छ ?
हामीले उठान गरेका धेरै मुद्दा सम्बोधन भएर आएका छन् । गैरआवासीय नेपाली समुदायलाई नेपाल सरकार र नेपालको हरेक वर्गले जिम्मेवारपूर्ण समूहको रूपमा लिएको छ । अब मातृभूमिका लागि केही गरेर देखाउने पालो हाम्रो हो । सबै साथीहरूले यो जिम्मेवारी बोध गरेर आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गरौं ।
(एनआरएन ग्लोबलको विशेषाङ्कबाट सम्पादित अंश)
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय