‘ज्ञान र शिप भित्र्याउन सम्मेलन कोशेढुङा हुनेछ’

‘ज्ञान र शिप भित्र्याउन सम्मेलन कोशेढुङा हुनेछ’

डा. हेमराज शर्मा

संयोजक, प्रथम एनआरएन विश्व विज्ञ सम्मेलन

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी अक्टोवर १२ र १३ मा दुईदिने विज्ञ सम्मेलन  र विधानसभाको आयोजना हुँदैछ । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरूसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यावसायिक संस्थालाई जोड्ने  अभिप्रायले यो सम्मेलनको आयोजना गर्न लागिएको हो । सो सम्मेलनका सन्दर्भमा  सम्मेलन संयोजक डा. हेमराज शर्मासँग आर्थिक पाटीले गरेको कुराकानीको सम्पादित अंश:

 

काठमाडौंमा विज्ञ सम्मेलन गर्दै हुनुहुन्छ, विशेषतː यो सम्मेलनको अवधारणा के हो ?

खास के हो भने, आजसम्म विदेशमा हामीले कमाएको पूँजी मात्रै नेपाल भित्रिरहेको छ, तर अबका दिनमा पूँजी मात्रै होइन,  विदेशमा जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूले  सिकेको ज्ञान, शिप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपभोग गर्नुपर्छ भन्ने महसुस भएरै यो सम्मेलनको आयोजन गर्न लागेका हौं । गैरआवासीय नेपाली संघले यही अवधारणा अँगालेर अघि बढेको पनि १५ वर्ष भइसक्यो । तर, अब यो अवधारणालाई वास्तवमै कार्यान्वयन गर्नुपर्छ भन्ने लागेर नै यो सम्मेलनको अवधारणा ल्याइएको हो ।  यस अवधिमा पूँजी भित्र्याउने विषयमा राष्ट्रले नीतिगत निर्णय लिएको छ र यसले परिणाम पनि दिन थालेको छ । विदेशमा नेपाली दाजुभाइ दिदीबहिनीले कमाएको ज्ञान र शिप कसरी नेपाल भित्र्याउने र यसका लागि राष्ट्रले कस्तो नीति लिने भन्ने विषयमा ठोस बहस  शुरू हुन सकेको छैन । यो सम्मेलनमार्फत सोही बहसको शुरूवात गर्न चाहेका पनि हौं ।  सम्मेलनमा नेपाल सरकारको पनि साझेदारी हुने भएकोले पक्कै पनि  ठोस निष्कर्षमा पुग्नेमा हामी आशावादी छौं ।

 

यस सम्मेलनको उद्देश्य के हो ?

विदेशमा बसेर नेपाली दाजुभाइ दिदीबहिनीले सिकेका ज्ञान, शिप र प्रविधिको नेपाल सुहाँउदो प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा ठोस निष्कर्ष निकाल्ने र सोहीअनुसारको नीति निर्माणमा सरकारको ध्यानाकर्षण गराउने हाम्रो उद्देश्य हो । नेपालमा विद्यमान नीति के कस्ता छन्, विश्वमा के कस्ता नीति अभ्यासमा छन् र तिनीहरूलाई नेपालको परिप्रेक्ष्यमा कसरी सान्दर्भिक बनाउने भन्नेमा हाम्रो जोड रहनेछ ।  

नेपालका बारे अध्ययन अनुसन्धान गरेका विदेशीहरू पनि यस सम्मेलनमा सहभागी हुनेछन् । खासगरी हामीजस्तै परिवेश भएका तर छोटो समयमा विकासको फड्को मारेका देशका विज्ञहरूको अनुभव हाम्रा लागि प्रभावकारी हुन सक्छ भनेरै उनीहरूलाई पनि सहभागी गराउन लागिएको हो । 

 

राष्ट्रले कल्पना गरेको ‘समृद्ध नेपाल’ निर्माण गर्नका लागि दक्ष गैरआवासीय नेपालीहरूको पहिचान गर्दै उनीहरूको ज्ञान र शिपलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे पनि सम्मेलन केन्द्रित रहनेछ । अझ भनौं, हामी यही सम्मेलनमार्फत समृद्ध नेपाल निर्माणका लागि आवश्यक जनशक्तिदेखि ज्ञान र शिप हामीसँग पर्याप्त छ कि छैन भन्ने विषयलाई पनि प्रष्ट पार्न चाहान्छौं । साथै ‘समृद्ध नेपाल’ बनाउने कार्यमा इँटा थप्न चाहान्छौं ।

 

नेपालमा यसअघि पूँजीमात्रै लगानी गर्दै आएकोमा यसपालि यो नयाँ सोचको विकास कसरी भयो र ज्ञानशिप भित्र्याउनेतर्फ ध्यान गयो ?

गैरआवासीय नेपालीहरू जसरी आर्थिक रूपमा सवल हुने बाटोमा छन, ज्ञान शिप र प्रविधिको क्षेत्रमा पनि त्यति नै सक्षम छन् ।  नाम चलेका अन्तर्राष्ट्रिय विश्वविद्यालय, अनुसन्धान केन्द्रदेखि लिएर सरकारको नीतिगत तहमा काम गरेका थुप्रै गैरआवासीय नेपालीहरू छन् ।  वैदेशिक रोजगारमा जानेहरू पनि विकसित देशको शिप र प्रविधिमा पोख्त भइसकेका छन् । उनीहरूले आफूले सिकेको शिपलाई नेपालका लागि सदुपयोग गर्न चाहन्छन् । नेपाल सरकार र एनआरएनले उनीहरूका लागि उपयुक्त वातावरण बनाउनुपर्छ भन्ने सोचका साथ यो सम्मेलन आयोजना गर्न लागिएको हो । त्यसका लागि यो सम्मेलन कोसेढुङ्गा हुने अपेक्षा गरेका छौं ।

 

सम्मेलनमा के कस्ता विषयवस्तु समेटिनेछन् ? कुन–कुन क्षेत्रलाई जोड दिइनेछ ?

पहिलो दिन साझाको उद्घाटन र दोस्रो दिन चारवटा प्लेनरी सत्र आयोजना हुनेछ । पहिले सत्रमा नेपालको विज्ञान तथा प्रविधिको नीति, प्राविधिक जनशक्तिको अवस्थालगायत विषयमा छलफल हुनेछ । दोस्रो सत्रमा ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल हुनेछ । तेस्रो सत्रमा नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानी विषयमा छलफल हुनेछ । साथै, नेपालको विकासका नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित सत्रहरू पनि समावेश गरिनेछ । दोस्रो दिन कृषि स्वास्थ्य, शिक्षा, भौतिक विकास तथा इञ्जिनियरिङ, वैकल्पिक ऊर्जा, विज्ञान तथा प्रविधि, जोखिम न्यूनीकरण, वातावरणीय  प्रदूषणदेखि लिएर फाइनान्सियल रेफर्म, सामाजिक सुरक्षालगायतका समानान्तर सत्रहरू रहनेछन् । तेस्रो दिनको कार्यक्रममा आमन्त्रितको मात्र सहभागिता हुनेछ, त्यहाँ हामीले सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्नेछौं । सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरूबीच पनि छलफल र परामर्श हुनेछ । 

  

यी विषय सर्वसाधारणको सरोकारसँग कसरी जोडिएका छन् ?

सम्मेलनका सबै विषयहरू आम जनजीविकासँग जोडिएका छन् । यसका साथै सरकारका विकासका प्राथमिकता परेका विषय पनि छन् । जस्तो भनौं, कृषि उत्पादन र ऊर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणीय प्रदूषण न्यूनीकरण, व्यवस्थित शहरको विकास, पूर्वाधार विकास, जलविद्युत्, व्यावसायिक शिक्षा, स्वास्य शिक्षा, संघीयतामा शिक्षाको मोडल आदि थुप्रै विषयमा यस सम्मेलनमा छलफल हुनेछ । नेपालमा कृिषजन्य पदार्थ र जडिबुटीको प्रशोधन तथा व्यावसायिक विधिका लागि इनोभेसन को–क्रिएशन सेण्टर खोली उद्यमशीलता कसरी विकास गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने छुट्टै सत्रको आयोजना गरेका छौं ।

 

यति धेरै विषयहरू समेटेर परिणाममुखी होला त सम्मेलन ?

सम्मेलनका विषयहरू अलि फराकिला भए भन्ने गुनासो हामीले सुन्दै आएका छौं । तर, यस्तो खालको सम्मेलन पहिलो पटक हुन लागेकाले सबै क्षेत्रका मानिसहरूको सहभागिता होस् भन्ने चाहन्छौं । बाहिर बस्ने नेपालीको ज्ञानको भण्डार के हो भन्नेबारे पहिचान पनि भइसकेको छैन । यस सम्मेलनबाट उनीहरूको स्किल डाइरेक्ट्री बनाउँनेछौं ताकि राष्ट्रले आवश्यकताअनुसार उनीहरूलाई सदुपयोग गर्न सकोस् । साथै सम्मेलन प्रत्येक २ वर्षमा गर्ने पूर्वघोषित निर्णयअनुसार भविष्यमा नेपाल सरकारको प्राथमिकतामा रहेका निश्चित विषयमा मात्र केन्द्रित रहेर आयोजना गर्ने भन्ने योजना छ ।

 

सम्मेलनमा क–कसको सहभागिता रहनेछ ?

नेपालभित्र र बाहिर कार्यरत विज्ञहरू, नेपालका बारेमा चासो राख्ने विदेशी विज्ञहरू, नेपाल सरकारका नीति निर्माता, स्वतन्त्र वुद्धिजीवी, नेपालको निजीक्षेत्र, नेपालस्थित कूटनीतिज्ञलगायत सबै क्षेत्रका विज्ञको सम्मेलनमा सहभागिता रहनेछ ।  ‘रिसर्च एण्ड डेभलेपोमेन्टसँग जोडिएका विज्ञ, अनुसन्धान संस्था र विश्वविद्यालयहरूका विज्ञहरूलाई हामीले आमन्त्रण गरेका छौं ।  साथै, यो सम्मेलन सर्वसाधारणका लागि पनि खुला गरिएको छ । यद्यपि व्यवस्थापनका लागि केही प्रवेश शुल्क तोकेका छौं ।

यस्तो खालको सम्मेलन पहिलो पटक हुन लागेकाले सबै क्षेत्रका मानिसहरूको सहभागिता होस् भन्ने चाहन्छौं । बाहिर बस्ने नेपालीको ज्ञानको भण्डार के हो भन्नेबारे पहिचान पनि भइसकेको छैन । यस सम्मेलनबाट उनीहरूको स्किल डाइरेक्ट्री बनाउँनेछौं ताकि राष्ट्रले आवश्यकताअनुसार
उनीहरूलाई सदुपयोग गर्न सकोस् ।

 

सम्मेलनमा सहभागी हुने विज्ञलाई कसरी परिभाषित गर्नुहुन्छ ?

ज्ञान, शिप, र प्रविधिका क्षेत्रमा अनुभव भएका अथवा सो क्षेत्रमा नयाँ विचार दिन सक्ने दक्ष, प्राज्ञिक सबै खालका व्यक्तित्व सम्मेलनमा आउनुहुनेछ । सम्मेलनमा सहभागी हुन विश्वविद्यालयबाट डिग्री नै लिनुपर्छ भन्ने छैन । नेपालका लागि उपयोग हुने विदेशमा सिकेको जुनसुकै शिपबारे दख्खल राख्ने व्यक्ति नै उपस्थित हुने हो । सम्मेलनमा निजीक्षेत्रबाट पनि सहभागिता रहनेछ किनभने ज्ञान, शिप र प्रविधिलाई आर्थिक लगानीबाट अलग राख्न सकिँदैन, यी एकअर्काका परिपूरक हुन् ।

 

सम्मेलनमा कार्यपत्रहरू कसरी छनोट गर्नुभएको छ, कति जनाको सहभागिता रहन्छ ?

नेपालभित्र र बाहिरका विज्ञहरूको एउटा कार्यक्रम कमिटी बनाएका छौं । यही कार्यक्रम कमिटीले छनोट गरेका विज्ञहरूको केही कार्यपत्रहरू छन् भने खुला रूपमा पनि शोधपत्र  मागेका छौं । यी कार्यपत्रहरूको रिभ्यू प्रोग्राम कमिटीले गर्छ र छनोट गर्छ । हामीलाई करिब १५० कार्यपत्र प्राप्त भएका छन् भने थप ५० जना प्यानलिष्ट हुनुहुनेछ । अन्य सहभागीसहित करिब ४ सय जनाले भाग लिनेछन् । 

 

सम्मेलनमा विदेशीहरू पनि सहभागिता हुन्छन् कि ?

अवश्य हुन्छन्, नेपालका बारे अध्ययन अनुसन्धान गरेका विदेशीहरू पनि यस सम्मेलनमा सहभागी हुनेछन् । खासगरी हामीजस्तै परिवेश भएका तर छोटो समयमा विकासको फड्को मारेका देशका विज्ञहरूको अनुभव हाम्रा लागि प्रभावकारी हुन सक्छ भनेरै उनीहरूलाई पनि सहभागी गराउन लागिएको हो । जस्तै, दिल्ली मेट्रोका इञ्जिनीयरलाई हामीले आमन्त्रण गरेका छौं । उहाँका अनुभव काठमाडौंमा मेट्रो रेल निर्माणमा सहयोगी बन्न सक्छ ।  युनेस्कोका विज्ञान तथा प्रविधि नीतिसम्बन्धी विज्ञको पनि सहभगिता रहनेछ । भारत, इटाली, अमेरिका, क्यानाडा, अष्ट्रेलियालगायत देशबाट करिब १० जना विदेशी विज्ञहरूले सम्मेलनमा भाग लिनेछन् ।

 

नेपाल सरकारसँग सहकार्य गरिँदै छ, भनेपछि त यस सम्मेलनले नेपालको नीति निर्माणमा पनि केही टेवा पुग्न सक्ला ?

हाम्रो अपेक्षा पनि त्यही हो । यो सम्मेलन नेपाल सरकारको साझेदारीमा हुँदै छ । सम्मेलनका सबै सत्रमा नेपाल सरकारका प्रतिनिधिहरूको सहभागिता हुनेछ । पहिलो दिनका सबै सत्र नीतिगत विषयमा केन्द्रित हुनेछ । यो सम्मेलनको मुख्य उद्देश्य नै नेपाल सरकारको नीति निर्माणमा सहयोग गर्ने नै हो  ।

 

सम्मेलन प्राज्ञिक बहसमा मात्र सीमित रहने हो ?

हामीले यो सम्मेलनलाई बहुआयामिक बनाउन चाहेका छौं । सम्मेलनलाई ज्ञानको मञ्चन गर्ने थलो बनाउने हाम्रो उद्देश्य हो ।  कसैसँग इनोभेटिभ आइडिया छ तर लगानी गर्ने पैसा छैन भने उनीहरूलाई सम्भावित लगानीकर्ता भेटाउन यो सम्मेलनले सहयोग गर्नेछ । यसका लागि हामीले एउटा छुट्टै सत्रको आयोजना गरेका छौं । विदेशमा ज्ञान, शिप सिकेर नेपाल फर्केकाहरूको अवसर र चुनौती के छ, उनीहरूसँग भएको अनुभव साट्नका लागि अर्काे सत्रको आयोजना गरिएको छ । सो सत्रमा विदेशबाट फर्किएकाहरूको एलुम्नाईका प्रतिनिधिहरूका प्रतिनिधिहरूलाई आमन्त्रण गरेका छौं ।  यस्तै, नेपाली विधार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने मुलुकका राजदूतहरू, यूजीसी, नास्टजस्ता अनुसन्धानका लागि स्रोत उपलब्ध गराउने निकायहरूको प्रतिनिधिहरू पनि आमन्त्रित छन् । रिसर्च एण्ड डेभेलोपमेण्टलाई नयाँ सिरामा पुर्याउन यस्ता कार्यक्रमले सहयोग गर्नेछ ।

 

सम्मेलनको अनुमानित खर्च कति आँकलन गर्नुभएको छ ?

लगभग १ करोडभन्दा बढी खर्च हुनेछ । यो खर्च एनआरएनए वा सरकारको कोषबाट नभई स्पोन्सर र प्रवेश शुल्कबाट उठाइनेछ ।

 

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

एनआरएनमा ब्यपारीहरूको सहभागिता रहँदै आएको र प्राज्ञिक क्षेत्रका मानिसहरूको सहभगिता न्यून रहेको छ भन्ने गुनासो छ । प्राज्ञिक क्षेत्रका गैरआवासीय नेपालीहरूलाई पनि आफ्नो ज्ञान र क्षमता देखाउने यो अवसर हो । नेपालका राजनीतिज्ञ र एनआरएनएका नेताहरूसँग गुनासो गरेर बस्नुभन्दा आफैंले केही गरेर देखाउने बेला आएको छ । यस्तो सम्मेलनमा हरेक दुई वर्षमा नेपालमा आयोजना हुने भएकाले यस सम्मेलनमा भाग लिन नसक्नु हुनेहरूले भविष्यमा सहभागिता अवश्य जनाउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं । ज्ञान, शिप, पूँजी र राजनीतिलाई हामीले सँगै लिएर जान सके मात्र परिवर्तन सम्भव छ ।  त्यसैले पहिलोपटक आयोजना हुन लागेको यस सम्मेलन सफल पार्न सबै गैरआवासीय नेपालीहरूलाई अनुरोध गर्दछौं ।

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय