प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने मिति सर्यो

प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने मिति सर्यो
काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले फागुन १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको भनिएको ऋणपत्रको निष्काशन मिति सारेको छ । ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक सो ऋणपत्रका लागि अब फागुन २८ गतेदेखि आवेदन दिन सकिनेछ ।
 
बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो ।
 
सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
 
सो ऋणपत्रको अवधि ८ वर्षको रहेको छ । बैंकले वार्षिक ८.७५ प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जनाएको छ ।
 
ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी सिंगल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संस्थाको रुपमा लिइन्छ ।
 
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
 
No comment yet. Be the first one to comment.